
नवीन कुइँकेल (इमेज)
लमजुङ, असार २० । हिमाली जिल्ला मनाङ जोडने एकमात्र बेसीसहर–चामे सडक स्तरवृद्धि नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् ।
लमजुङको मर्स्याङदी गाउँपालिका र मनाङ दैनिक आउजाउ गर्ने सडक निर्माण सुरु भएको २५ वर्षदेखि सुधार हुन नसक्दा समस्या झनै बढ्दै गएको छ ।
सडक स्तरवृद्धि हुन नसक्दा हिउँद, बर्खा दुवै याममा सर्वसाधरणले सास्ती पाउँदै आएका छन् ।
सडक बनाउन थालेको २५ वर्ष पुग्दापनि न नाला बनाइएको छ न त खाल्डा-खुल्डी नै पुरिएको छ ।
बर्खा सुरु हुनासाथ हिलो र ठाउँ–ठाउँमा खसेको पहिरोले यात्रुहरुले सास्ती झेल्दै आएका छन् ।
बेसीसहर–चामे सडकअन्तर्गत् पर्ने खरखरे भीर, अर्खलेबेसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पानीसँगै आएको पहिरोले सडक थप जोखिमपूर्ण बनाएको छ ।
विभिन्न ठाउँमा सडकमा जमेको हिलोले यात्रुलाई बिचल्लीमा पारेकोमात्र छैन, सामान ढुवानीमासमेत समस्या थपिएको छ ।
सडक विभागले आर्थिक वर्ष २०५१/०५२ मा बेंसीसहर–चामे सडक निर्माण थालेको थियो ।
द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि २०५७ मा तत्कालीन नेपाली सेनालाई जिम्मा लगाएको थियो ।
निर्माण सुरु भएको १९ वर्षपछि ‘ट्रयाक’ खोल्ने काम सकिएपनि त्यसयता सडकको सुधार हुनसकेको छैन ।
सडक स्तरवृद्धिका लागि जनस्तरबाट सरोकार समिति गठन गरेर दबाब दिन थालिएपनि कतैबाट सुनुवाइ भएको छैन ।
आर्थिक वर्ष २०७४/०७५ मा सडक स्तरवृद्धि तथा मर्मतका लागि लामा कान्छाराम नाना जेभीले २३ करोड रुपैयाँको ठेक्का पाएकोमा अहिलेसम्म काम सकेको छैन ।
पुरानो ठेक्काको काम नसिकिँदा त्यसपछिका आर्थिक वर्षमा विनियोजित रकमको ठेक्का नै लाग्न सकेको छैन । जसले गर्दा सडक कहिलेसम्ममा सम्पन्न हुन्छ भन्नेमै अन्योल छ ।
प्रतिक्रिया दिनुहोस्