१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


५० प्रतिशत क्षमतामा उद्योग–व्यवसाय सञ्चालन गर्न निजी क्षेत्र तयार


0
Shares

नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज)

काठमाडौं, असार २० । ‘लकडाउन’का कारण लामो समय बन्द भएका उद्योग, होटल तथा पर्यटन व्यवसाय खोल्नका लागि सरकारको अनुमतिको पर्खाइमा रहेको निजी क्षेत्रले बताएको छ ।

सरकारले गत वैशाख २५ गतेबाट उचित स्वास्थ्य चेकजाँचका साथ ४२ प्रकारका उद्योग खोल्ने निर्णय गरेपनि कतिपय उद्योग चल्न सकेका छैनन् ।

लामो समयसम्म व्यवसाय बन्द हुँदा घाटा व्यहोरिरहेकाले अब भने ५० प्रतिशत क्षमतासम्म उद्योग–व्यवसाय चलाउने निजी क्षेत्रको तयारी छ ।

लामो समयसम्म उद्योग तथा व्यवसाय चल्न नसक्दा यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परिरहेको छ ।

लकडाउनकै कारण आर्थिक वृद्धिदर २.२७ प्रतिशतमा खुम्चने केन्द्रीय तथ्यांक विभागले बताएको छ ।

यो समयमा आर्थिक वृद्धिदर उकास्नका लागि पनि सरकारले उचित निर्णय गर्दै उद्योग–व्यवसाय खोल्नुपर्ने तत्कालको आवश्यकता देखिएको छ ।

लकडाउन खुकुलोभन्दा पनि व्यवस्थित बनाइ स्वास्थ्य परीक्षणको निश्चित मापदण्ड बनाइ उद्योग सञ्चालन गर्न दिनु तत्कालको आवश्यकता बनेको छ ।

यो समयमा सार्वजनिक यातयात नचल्नु र श्रमिकहरु पनि काममा जान नसक्दा उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छैनन् । यसकारण उद्योगले गति लिन नसक्दा आर्थिक वृद्धिदरमा पनि धक्का लागेको छ ।

निजी क्षेत्रले पनि आफ्ना उद्योग तथा व्यवसाय ५० प्रतिशत क्षमतासम्म चलाउन सक्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल अर्थतन्त्र पुनरुत्थानका लागि भएपनि सरकारले ५० प्रतिशत क्षमतामा उद्योग खोल्नुपर्ने बताउनुहुन्छ ।

ठूला होटलले छ महिना बन्द गर्ने निर्णय गरिसकेका छन् । जसकारण होटलले मासिकरुपमा एक अर्बभन्दा बढी नोक्सान व्यहोरिरहेको होटल एसोसिएसन नेपालले बताएको छ ।

होटल एसोसिएसन नेपालकी अध्यक्ष सिर्जना राणा सरकारले मापदण्ड बनाएमा आफूहरु ५० प्रतिशत क्षमतामा ‘अकुपेन्सी’ हेरेर खोल्नसक्ने अवस्था रहेको बताउनुहुन्छ ।

सरकारले यही अवस्थामा व्यवसाय सञ्चालनका लागि भने सहुलियत दिनुपर्ने राणाको भनाइ छ ।

१०० दिनभन्दा बढी समय लकडाउन हुँदा उद्योग, व्यवसाय र समग्र अर्थतन्त्र सुस्ताएको छ ।

भिडियो हेर्नुहोस्