
काठमाडौं । तीन दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तापछि कांग्रेसभित्र खैलाबैला सुरु भएको छ ।
देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा भएको भेटवार्तापछि कांग्रेसका केही नेताहरु सशंकित समेत बनेका छन् ।
दुई नेताबिच संवैधानिक निकायमा नियुक्तीबारे मात्र कुराकानी भएको सार्वजनिक गरिए पनि नेकपा विभाजन हुनसक्ने र आगामी सरकारको जोडघटाउका बारेमा कुरा भएको बुझिएको छ ।
सोही भेटघाटलाई लिएर कांग्रेसभित्र विभिन्न बहसहरु भइरहेका छन् । देउवाले आफू निकट केही नेताहरुलाई प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेको ब्रिफिङ्ग गरेका छन् ।
यता, आइतबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा देउवाले भेटबारे प्रष्टिकरण दिने बताइएको छ । प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका केही शीर्ष नेताहरुले सभापति देउवाले भेट्नुको कारण माग गरेका छन् ।
पार्टी मुख्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठकमा ओली–देउवा भेटवार्ता बाहेक समसामयिक राजनीतिक परिस्थिति र पार्टीको १४ औं महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेस पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने निर्णय गर्दै कार्यतालिका पनि तयार पारेको थियो । सो कार्यतालिकालाई केन्द्रीय समितिले अन्तिम रुप दिने छ ।
बैठकमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भएको भनिएको गोप्य भेटबारे पनि केन्द्रीय सदस्यहरुले कुरा उठाउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्