१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिलाई भेट्न गएका नेतात्रयले भने : महाअभियोग हल्ला मात्र हो


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषद्को अनौपचारिक बैठकमा राष्ट्रपति भण्डारीलाई पार्टीभित्रबाटै महाअभियोग लगाउने तयारी भइरहेको बताएपछि यस विषयमा राष्ट्रपतिलाई स्पष्ट पार्न नेतात्रय शीतलनिवास पुग्नुभएको हो ।

छलफलमा नेताहरुले राष्ट्रपतिलाई अभियोग लगाउने विषयमा पार्टीभित्र कुनै छलफल नभएको र त्यस्तो प्रस्ताव समेत नआउने भन्दै आश्वस्त पारेका थिए ।

उनीहरुले सरकारबाट आउनेसक्ने पार्टी विभाजन सम्बन्धी अध्यादेश, संसद भंग, संकटकाल जस्ता कुनैपनि प्रस्ताव स्वीकार नगर्न समेत आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

पार्टीभित्रको विवादले राष्ट्रपति संस्था पनि विवादमा पर्दै गएको भन्दै राष्ट्रपति भण्डारीलाई सचेत रहन समेत नेतात्रयले आग्रह गरेका छन् । राष्ट्रपतिसँगको छलफल सकिएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पार्टीभित्रको समस्या समाधान गर्न विषयमा अहिले छलफल भइरहेको छ ।