१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रसुवागढी नाका सञ्चालनमा


13
Shares

रसुवा, असार २२ । छ महिनादेखि बन्द रहेको चीनसँगको व्यापारिक नाका रसुवागढी पुनः सञ्चालनमा आएको छ ।

चिनियाँ पक्षले सामग्री मितेरी पुलसम्म ल्याएसँगै रसुवागढी नाका सञ्चालनमा आएको हो ।

पहिलो दिन सोमबार चिनियाँ पक्षकै चारओटा गाडीमा रेडिमेड तथा इलेक्ट्रोनिक्स सामग्री १२० टन सामान नेपाल भित्रिएको छ ।

कोभिड–१९ को संक्रमण फैलिरहेको अवस्थालाई ध्यानमा राखेर दुवै देशका कामदारलाई नाकामा उच्च स्वास्थ्य सतर्कता अपनाएरमात्र सामान नेपाल ल्याइने रसुवागढी भन्सार कार्यालय टिमुरेका भन्सार प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिनुभएको छ ।

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन् भने मितेरी पुलमा सामग्री लोड/अनलोड गर्नका लागि पीपीई सेट लगाएका कामदार रहने व्यवस्था गरिएको छ ।

नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ जना चालक र १६ कामदारलाई मात्र सिमानामा काम गर्नेगरी परिचयपत्र दिएको छ ।

त्यहाँ जाने चालक तथा कामदारको दैनिक स्वास्थ्य परीक्षण गरेरमात्र जाने व्यवस्था गरिएको छ ।

लामो समयदेखि बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा काम गर्ने व्यापारी, होटल व्यवसायी तथा मजदुरहरु भने उत्साहित भएका छन् ।