१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंमा बढ्दै कोरोना संक्रमित


0
Shares

प्रज्ञा तिमल्सिना (इमेज)

काठमाडौं, असार २३ । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको छ ।

हाल काठमाडौं, भक्तपुर र ललितपुरमा २०० संक्रमित नाघिसकेका छन् ।

दिनहुँ संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौंका विभिन्न कोभिड अस्पताल संक्रमितले भरिएका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो समय भेटिएका संक्रमितमध्ये धेरैमा संक्रमण कहाँबाट सर्‍यो भन्ने पुष्टि भएको छैन । उनीहरुको संक्रमणको स्रोत पत्ता लागेको छैन । जसले उपत्यकामा संक्रमण स्थानीय तहमै पुगेको हो कि भन्ने संकेत देखाएको छ ।

ललितपुरका ‘ट्राभल हिस्ट्री’ नै नदेखिएका एक बालकमा संक्रमण पुष्टि भयो । ‘ब्रेन ट्युमर’ भएर मेडिसिटी अस्पताल भर्ना भएका उनको शल्यक्रिया गर्नुअघि स्वास्थ्य परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

असार १६ गते काठमाडौंको शंखमूलमा कोरोना संक्रमण पुष्टि भएकी एक गर्भवती महिलाको पनि कुनै ट्राभल हिस्ट्री भेटिएको छैन ।

उपत्यकामा भेटिएका संक्रमितको धेरैको ट्राभल हिस्ट्री छैन । तर, उनीहरुमा कसरी पुग्यो त संक्रमण ? जनमानसमा उब्जिएको ठूलो प्रश्न हो यो ।

केही दिनयता उपत्यकामा दिनहुँजस्तो ठूलो संख्यामा संक्रमित थपिँदै गएका छन् । जसमा सरकारले भने बेवास्ता गरेको छ । सर्वसाधारणलाई पनि कुनै वास्ता छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भौतिक दुरी कायम गर्ने, अनिवार्यरुपमा मास्क लगाउने र सेनिटाइजरको प्रयोग गर्ने, यी तीन प्रणाली लागू भए संक्रमण नबढ्ने बताउनुहुन्छ ।

ठूलो जनसंख्या गरेको उपत्यकामा तीन महिनापश्चात् संक्रमित दिनहुँ बढ्दै जानुलाई जनस्वास्थ्यविद्हरुले भने संक्रमण बढ्न सक्ने संकेत हो भन्छन् ।

तर, स्वास्थ्य मन्त्रालयले भने देशभर संक्रमितको संख्या घट्टै गएको छ तर काठमाडौंमा देखियो भन्दैमा डराउन नपर्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले दिनहुँ प्रस्तुत गर्ने तथ्यांकअनुसार केही दिनयता देशभर संक्रमितको संख्या घटेको छ ।

७०० सम्म संक्रमित पुगेको संख्या हाल घटेर १०० माथिमात्र पुगेको छ । पछिल्लो समय ‘एक्टिभ केस’ नबढेको मन्त्रालयले पुष्टि गरेको छ ।

उपत्यकामा संक्रमितको संख्या दिनहुँ बढ्दा सरकारले बेवास्ता गर्ने हो भने त्यसले भयावह अवस्था ननिम्त्याउला भन्न सकिन्न । किनकि, सडक र बजारमा बढेको भिडभाडलाई नियन्त्रण गराउन कडाइ नगर्ने हो भने आगामी दिन थप जोखिमपूर्ण हुने देखिन्छ ।

भिडियो हेर्नुहोस्