काठमाडौं, असार २५ । भूकम्पले क्षतिग्रस्त धरहराको दशौं तलासम्मको ढलानको काम सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
बिहीबार संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा ‘लकडाउन’का कारण केही समय प्रभावित भएपनि धरहराको काम ४० प्रतिशत सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले तीनतल्ले पार्किङतर्फको काम जारी रहेको बताउनुभयो ।
कार्यकारी अधिकृत ज्ञवालीले सिंहदरबार पुनर्निर्माणको काम ९८ प्रतिशत सम्पन्न भएको बताउनुभयो ।
ढिलोमा तिहारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासनिक भवनमा सार्ने योजनाका साथ काम भइरहेको उहाँले बताउनुभयो ।
भूकम्पले क्षति पुर्याएको रानीपोखरीको मन्दिर र सौन्दर्यीकरणबाहेकका पुनर्निर्माणको काम सम्पन्न भएको भएको छ । बालगोपालेश्वर मन्दिरको ५० प्रतिशत काम सम्पन्न भएको छ ।
अहिलेसम्म भूकम्पबाट क्षति भएका पाँच लाख सात हजार ६२३ घरको पुनर्निर्माण सम्पन्न भएको र दुई लाख दुई हजार ६४३ घर पुनर्निर्माणको क्रममा रहेको उहाँले बताउनुभयो ।
घर पुनर्निर्माणका लागि सात लाख ८६ हजार १४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् ।
समितिले गुम्बा र अन्य साँस्कृतिक सम्पदाहरुको पुननिर्माणको कामलाई महत्वका साथ अघि बढाउन निर्देशन दिएको छ ।
सभापति कल्याणी खड्काले पुनर्निर्माणको क्रममा रहेका गुम्बा र अन्य साँस्कृतिक महत्वका संरचनाहरु व्यवस्थापन गरी द्रुतगतिमा निर्माणकार्य अघि बढाउन प्राधिकरणलाई निर्देशन दिनुभयो ।
४०२ ओटा गुम्बाको मर्मत–सम्भारको काम सम्पन्न भएको र पुनर्निर्माण गर्नुपर्ने ११७ ओटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाइएको छ ।
प्राधिकरणको म्याद आगामी पुसमा सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस्