सुनसरी, असार २६ । लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ ।
शुक्रबार पानीको बहाव यो वर्षकै उच्च तहमा पुगेसँगै भारतले नदीमा खतराको संकेतस्वरुप रातो बत्ती र रातो झन्डा राखेको छ ।
सप्तकोसी नदीमा शुक्रबार मध्याह्न १२ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २५ हजार ५५ क्यूसेक पुगेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिनुभएको छ ।
पानीको बहाव बढेपनि कोसी ब्यारेजका ५६ ढोकामध्ये जम्मा ३३ ओटा ढोका खोलिएका छन् ।
पूर्वी पहाडी र मध्यपहाडी जिल्लाहरुमा परेको लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो ।
यस नदीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।
पानीको बहाव उच्च भएपछि कोसीप्रभावित क्षेत्र सुनसरीका महेन्द्रनगर, प्रकाशपुर, हरिपुर, बराहक्षेत्रलगायत दर्जनौं बस्तीका बासिन्दा त्रसित भएका छन् ।
पानीको बहाव वर्षकै उच्च हुँदा समेत कोसी ब्यारेजका ढोका खोल्न स्थानीय प्रशासनले चासो देखाएको छैन ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा भारतले आफूअनुकूलमात्र ढोका खोल्ने गरेका कारण नेपालीहरु त्रसित हुनुपरेको सुनसरी बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले बताउनुभयो ।
उहाँले सप्तकोसीका सबै ढोका खोल्ने वातावरण बनाइदिन संघीय सरकारसमक्ष माग गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्