१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कालीगण्डकी नदीमा पानीको बहाव २७ वर्षयताकै उच्च


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार २६ । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झन्डै तीन दशकयताकै उच्च विन्दुमा पुगेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङबाट सुरु भइ म्याग्दी, पर्वत र बागलुङ हुँदै बग्ने कालीगण्डकी २७ वर्षयताकै उच्च विन्दुमा पुगेको हो ।

नदीको माथिल्लो बहाव क्षेत्र मुस्ताङको जोमसोमदेखि म्याग्दीको उत्तरी क्षेत्रमा बिहीबार रातिदेखि नै भारी वर्षा भएका कारण नदीमा पानीको बहावले उच्च विन्दु पार गरेको छ ।

२०५० साल साउन महिनामा कालीगण्डकी नदीले नौ गेज मिटरको उचाइ छोएको थियो । त्यसको ठिक २७ वर्षपछि उक्त विन्दु पार गरेको कालीगण्डकीमा गेज मिटर मापन (पानीको बहाव मापन) गर्दै आएका स्थानीय गेज रिडर कृष्णबहादुर सुवेदीले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष कालीगण्डकी नदीले वर्षायाममा पानीको बहाव बढ्दा सरदर सातदेखि आठ गेज मिटरको उचाइ छुने गरेको थियो । यो वर्ष ती विगतका सबै रेकर्ड तोडेर उच्च विन्दु पार गरेको सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीले विगत २९ वर्षदेखि आफूले कालीगण्डकी नदीमा गेज मिटर रिडिङको काम गर्दै आएको बताउनुभयो ।

प्रत्येक दिन बिहान नदीमा पानीको सतह नाप्ने र पानीमा बालुवाको मात्रा अध्ययन गरी जल तथा मौसम विज्ञान विभागको पोखरा कार्यालयलाई विवरण उपलब्ध गराउने गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको विभागले देशभरका नदीमा गेज मिटर राखेर पानीको बहाव मापन गर्नेे गर्दछ ।

विभागले यसकै आधारमा तराईका क्षेत्रमा डुबानको पूर्वानुमान र विभिन्न वातावरणीय प्रभावका विषयमा समेत अध्ययन गर्ने गरेको छ ।

सतर्कता अपनाउन आग्रह
निरन्तरको वर्षाका कारण नदीमा बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

म्याग्दी, बाग्लुङ र पर्वत जिल्लाका प्रशासन कार्यालयले कालीगण्डकीको सतह बढेपछि तटीय क्षेत्र र नदी आसपास क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् ।

नदीमा पानीको बहाव बढेसँगै कालीगण्डकी नदीको किनारमै रहेको म्याग्दीको बेनीबजार, पर्वतको वारि बेनीबजार, पर्वतको मालढुंगामा रहेको माझीबस्ती, सेतीवेणीबजारलगायतका क्षेत्र उच्च जोखिममा रहने गरेका छन ।

जलविद्युत् आयोजनाका सबै ढोका खोलियो
नदीमा पानीको बहाव उच्च भएपछि शुक्रबार कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाका सबै ढोका खोलिएको छ ।

नदीमा बढेको बहावले कालीगण्डकी जलाशय आसपासका बस्ती जोखिममा पर्न थालेपछि सबै ढोका खोल्न लगाइएको पर्वतका प्रमुख जिल्ला अधिकारी शुम्भरप्रसाद रेग्मीले जानकारी दिनुभयो ।