काठमाडौं, असार २६ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले अनुरोध गरेकै भरमा अहिलेकै अवस्थामा सवारी–साधन सञ्चालन गर्न नसक्ने जनाएको छ ।
सरकारले आवश्यक सुरक्षा अपनाएर छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपनि महासंघले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको हो ।
महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले ‘लकडाउन’ अवधिको बैंक किस्ता सार्नुपर्ने, ब्याज मिनाहा हुनुपर्ने, लकडाउनपछिको किस्ताका लागि समय सार्नुपर्ने र ब्याज पुनर्विचार गर्नुपर्नेलगायतका माग पूरा नभएसम्म यातायात सञ्चालन नगर्ने निर्णय गरेको छ ।
लकडाउनको ११० दिनसम्म पार्किङमा रहेका सवारी निकाल्दा सर्भिसिङमा मात्रै ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुने अवस्था भएकाले पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले बताउनुभयो ।
भाडा बढाएर सवारी सञ्चालन गर्नु अहिलेको समस्यामा समाधान नभएकाले दैनिक सञ्चालन खर्च उठ्ने र बैंक किस्ता तिर्न पुग्ने गरी उपदानको व्यवस्था हुनुपर्ने व्यवसायीहरुको माग छ ।
सरकारले जिल्लाभित्रमात्रै सञ्चालन गर्नेगरी सिट क्षमताको ५० प्रतिशत यात्रु राखेर सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।
यस्तो अवस्थामा प्रचलित भाडादरमा ५० प्रतिशत बढी रकम लिन पाउने व्यवस्था पनि सरकारले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्