विजय नेपाल र दीपेन्द्र अधिकारी (इमेज)
सिन्धुपाल्चोक, काठमाडौं, असार २६ । देशभर बाढी–पहिरोले जनधनको क्षति भइरहँदा सिन्धुपाल्चोकका विभिन्न स्थानमा बाढी–पहिरोका घाइतेहरुको उद्धारका लागि सरकारी र निजी तवरबाट पाँचओटा हेलिकोप्टर प्रयोग गरिएपनि छजना घाइतेकोमात्र उद्धार भएको छ ।
यसले विपद्को समयमा स्रोत–साधन दुरुपयोग त भएको छैन ? भन्ने प्रश्न उब्जाएको छ ।
सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका विभिन्न स्थानमा बाढी–पहिरोका घाइतेहरुको उद्धारका सरकारी र निजी क्षेत्रबाट पाँचओटा हेलिकोप्टर प्रयोग गरिएपनि छजना घाइतेकोमात्र उद्धार भएको छ ।
घाइतेहरुको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
सभामुख, प्रदेशका मन्त्री, प्रतिपक्ष दलका नेताहरु, गाउँपालिकाका अध्यक्ष एवं जिल्ला तहका नेताहरु हेलिकोप्टरमा चढेर घटनास्थल पुग्नुभएको थियो ।
आफ्नै निर्वाचन क्षेत्रमा सभामुख अग्नि सापकोटा नेपाली सेनाको हेलिकोप्टरमा पुग्नुभएको थियो ।
त्यस्तै, वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, वन, उद्योग, पर्यटन एवं वातावरणमन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल र वाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामा पनि बाढीप्रभावित क्षेत्रमा पुग्नुभएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत पनि हेलिकोप्टरमा पुग्नुभएको थियो ।
त्यस्तै, जिल्लास्तरका राजनीतिक नेताहरु पनि हेलिकोप्टर लिएर प्रभावित क्षेत्र पुगेका थिए ।
प्रदेश मन्त्रीहरुको समूह प्रतिघन्टा एक लाख रुपैयाँसम्म भाडा पर्ने निजी कम्पनीको हेलिकोप्टरबाट प्रभावितस्थल पुग्नुभएको थियो । जसको खर्च प्रदेश सरकारले व्यहोर्नेछ ।
वाग्मती प्रदेशका वन, उद्योग, पर्यटन एवं वातावरणमन्त्री हेलिकोप्टर परिचालनसहितको खर्च पछि सार्वजनिक गर्ने र तत्कालका लागि जनधनको रक्षा गर्नु पहिलो काम भएको बताउनुहुन्छ ।
सभामुख चढेको हेलिकोप्टरको भाडा पनि सेनाले सरकारसँग लिनेछ । सेनाले गृह मन्त्रालयको अनुरोधमा हेलिकोप्टर पठाउने गर्छ ।
निजी खर्चमा ल्याएइका हेलिकोप्टरको भाडा भने व्यक्तिले तिर्नुपर्नेछ । त्यसवापतको रकम पनि लाखौं रुपैयाँ हुन आउँछ ।
बाढी–पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् ।
सम्बन्धित निकायका अधिकारीहरुबीच समन्वय भएको भए मितव्ययी तरिकाले घाइतेको उद्धार हुनसक्ने थियो ।
राहत, उद्धार तथा अवलोकनको नाममा राज्यका स्रोत र साधनको दुरुपयोग गरेर नेताहरुले घाइते र प्रभावितस्थलमा पुग्नुलाई पहुँचको रुपमा देखाउने प्रवृत्ति भने नौलो होइन ।
प्रतिक्रिया दिनुहोस्