२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिंगापुरमा सम्पन्न आमचुनावमा सत्तारुढ दल नै विजयी


0
Shares

सिंगापुर, असार २७ । सिंगापुरमा शुक्रबार भएको आमनिर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ ।

सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पीएपी)ले नै निर्वाचनमार्फत् फेरि सत्ता सञ्चालनको जनादेश पाएको हो ।

कुल खसेको मतमध्ये ९० प्रतिशतसम्मको नतिजा आउँदा ९३ सिटमध्ये विपक्षी दल वकर्स पार्टी (डब्लुपी)ले १० मात्रै सिटमा जित्न सफल भएको छ ।

निर्वाचनको नतिजा औपचारिकरुपमा घोषणा भएपछि सत्तारुढ दलले फेरि सरकार गठनका लागि गृहकार्य गर्ने ‘साउथ चाइना मर्निङ पोस्ट’ले लेखेको छ ।

अहिले सत्तामा रहेको दल सन् १९५९ देखि सत्तामा रहँदै आएको छ ।

अहिले भएको निर्वाचनमा कुल मतदातामध्ये ६१.२४ प्रतिशतमात्रै मतदाता सहभागी भएका थिए ।

आफ्नो पक्षमा निर्वाचनको नतिजा आएपछि प्रधानमन्त्री लि हसिन लुङ्गले नतिजालाई सकारात्मक र सन्तोषजनकरुपमा लिएको बताउनुभएको छ ।

यसलाई अति ठूलो उपलब्धिको रुपमा लिनुपर्ने अवस्था नरहेको र यो अनपेक्षित नतिजा नभएकोे उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो–‘अहिले जुन मत हाम्रो पक्षमा आएको छ, त्यो एकदमै बलियो मतादेश हैन । मैले त्योभन्दा धेरै आउला भन्ने आशा गरेको थिए । तरपनि राम्रोचाहिं भएको छ ।’

उहाँले आफ्नो पक्षमा आएको ६१ प्रतिशत मत लोकप्रिय मत नै भएको र यसको पूर्ण आदर गर्ने पनि बताउनुभयो ।

सत्तारुढ दल पीएपीले यसअघि सन् २०१५ मा ६९.९ प्रतिशत मत ल्याएकोमा अहिले ८.७ प्रतिशत घटेर ६१.२४ प्रतिशतमात्रै ल्याएको हो ।

मतदानका लागि सामाजिक दुरी कायम राखेर मतदान गर्ने व्यवस्था गरिएको थियो भने कोरानाभाइरसका लागि अपनाउनुपर्ने अन्य सतर्कताहरु अपनाउन पनि लगाइएको थियो ।

देशभरि मतदानका लागि यसअघि ८८० मतदान केन्द्रहरु रहेकोमा यसपटक बढाएर ११ सय पुर्‍याइएको थियो । रासस/एएनआई