१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पीसीआर परीक्षणको दायरा घटाएपछि कोरोना संक्रमितको संख्या घट्यो


0
Shares

काठमाडौं । विगत एक साता यता पीसीआर परीक्षणको दायरा घटाएपछि कोरोना संक्रमितको संख्या पनि घट्दै गएको देखिएको छ ।

परीक्षणको दायरा खुम्चाएपछि संक्रमितको संख्या पनि घट्दै गएको देखिएको हो । विगतमा दैनिक चार हजारको परीक्षण गर्दै आएकोमा हाल तीन हजारको संख्यामा मात्र परीक्षण भैरहेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ८२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर १६ हजार ८ सय १ जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले प्रदेश १ मा ४, प्रदेश २ मा २०, वागमती प्रदेशमा १४,गण्डकी प्रदेशमा १५,प्रदेश नम्वर ५ मा २, कर्णाली प्रदेशमा २१ र सुदूरपश्चिम प्रदेशका ६ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो ।

जसमा धनुषाका १९, सुर्खेतका ११ , कालिकोटका ७, तनहुका ६, काठमाडौ र चितवनका ५/५ जना, वाग्लुङ,मोरङ, पर्वत, लमजुङ् , रुकुम पश्चिम, डडेलधुरा, कैलालीका २/२ जना, झापा, सर्लाही, सिन्धुपाल्चोक, सिन्धुली, ललितपुर, सोलुखुम्वु, स्याङ्जा, गोरखा, नवलपरासी पूर्व, गुल्मी, पाल्पा, दैलेख, बझाङ् र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै आज १ सय ४७ जना डिस्चार्ज भएका छन् ।

योसँगै देशभर हालसम्म ८ हजार ५ सय ८९ जनाले संक्रमणलाई जितेका छन् । हाल कुल संक्रमित संख्याको ५१ प्रतिशत व्यक्तिले कोरोना जितेका छन् ।

यस्तै हाल ८ हजार १ सय ७४ जना आइसोलेसन कक्षमा रहेका छन् । जसमा प्रदेश १ मा १ सय ८० , प्रदेश २ मा १ हजार ९ सय १३ , वागमति ४ सय ६४ जना,गण्डकीमा ९ सय १ जना , प्रदेश ५ मा १ हजार ६ सय ८४,कर्णालीमा ३ सय ८८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय ४७ जना रहेका छन् ।