
अनिल तिवारी (इमेज)
पर्सा, असार २९ । नेता नै ठेकेदार हुँदा र ठेकेदार नै मधेसका नेता बन्न थालेपछि पर्साका जनता अहिले बिचल्लीमा परेका छन् ।
विकासको नाममा सडक नै हिलाम्मे बनाएपछि जिल्लाको पश्चिमी भेगका जनताको जीवन कष्टकर बनेको छ ।
पर्साका पश्चिमी भेगका एक दर्जनभन्दा बढी गाउँ जोड्ने पोखरीया–भिस्वा सडक । ठेकेदारको लापरबाहीले विकासको नाममा सडकको अवस्था झनै जर्जर बन्दै गएको छ ।
ठेक्का लिन मरिहत्ते गर्ने तर ठेक्का पाएपछि हेलचेक्र्याइँ गर्ने प्रवृत्तिले वीरगन्जका प्रायःजसो सडकको अवस्था यस्तै छ ।
पोखरीयादेखि लंगडीसम्म करिब पाँच किलोमिटर सडक पूर्णरुपमा हिलाम्मे बन्दा वीरगन्जबाट गाउँ वा गाउँ क्षेत्रबाट वीरगन्जसम्म एम्बुलेन्स पनि आउन नसक्ने अवस्था छ ।
दैनिकरुपमा यो बाटो भएर आउने दर्जनौं मोटरसाइकल, गाडी र ट्याक्टर हिलोमा फस्ने गरेका छन् ।
पर्सामा ठेकेदार नै नेता र नेता नै ठेकेदार बन्ने प्रवृत्ति बढेपछि जनताले यस्तो सास्ती भोग्नुपरेको छ ।
पर्सा क्षेत्र नम्बर–४ ‘ख’कै प्रदेश सांसद सिगासशन साह कलवारको ठेकदार कम्पनीले सडक निर्माणमा चरम लापरबाही गरेको कारणले यो अवस्था आएको हो ।
सडकको यस्तो हालत हुँदा दर्जनौं गाडी हिलोमा फस्ने गरेका छन् ।
सडकको कारण सुत्केरी, महिला र बजार ओहोर–दोहोर गर्नेहरुले सास्ती खेप्नुपरेको छ ।
प्रदेश नम्बर–२ भौतिक पूर्वाधार विकास मन्त्रालयको करिब १४ करोड रुपैयाँको लागतमा १३ किलोमिटर सडकमा माटो पुरेर पोखरीयादेखि हरिहरपुरसम्म सात किलोमिटर चौडाइमा कालोपत्रे गर्नुपर्ने भएपनि अहिलेसम्म सडकको हालत यस्तो छ ।
रोशन/रन्जन/सागर जेभी कम्पनीले उक्त सडकको काम गत असारमा ठेक्का पाएर काम सुरु गरेको हो । सबैठवा–भिस्वा–मिर्जापुरमा साढे पाँच मिटर चौडा कालोपत्रे गर्न ११ करोडमा ठेक्का परेको हो ।
पोखरी–मिर्जापुर २२ करोडमा र सबैठवा–मिर्जापुर १८ करोडमा टेन्डर अह्वान भएतापनि ३५ प्रतिशत घटाएर ठेकेदार कम्पनीले ठेक्का हात पारेको थियो । हालसम्म ३५ प्रतिशतमात्र काम भएको छ ।
त्यसैगरी, सिगाहशन साह कलवारकै परिवार साझेदार रहेको रोशन/रन्जन/सागर जेभीले पनि पर्साको दक्षिणी सडक सबैठवा–भिस्वा–जयमंगलापुर–मिर्जापुरको १० किलोमिटर लम्बाइकै सडक पनि अलपत्र परेको छ ।
कलवारको आफ्नै निर्वाचन क्षेत्र भएतापनि बजेटको दुरुपयोग गरी प्रभावकारी काम नगर्दा जनताले सास्ती खेप्नुपरेको हो ।
सडकको यो दुरदशा हुँदा र सर्वसाधरणले पटक–पटक आवाज उठाउँदासमेत ठेकेदार र सम्बन्धित निकायले वास्ता नगर्दा सर्वसाधरणले सास्ती भोग्दै आउनुपरको छ ।
प्रतिक्रिया दिनुहोस्