१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्युठानमा सलह छ्याप्पै, टिन र थाल ठटाउँदा पनि भागेनन्


0
Shares

प्युठान । जिल्लाका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् ।

किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् ।

लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताउनुभयो । उहाँका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्‍याइरहेको छ ।

“बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भन्नुभयो, “हाम्रो केही उपाय लागेन ।” प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ ।

पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी दिनुभयो ।

आइतबार सरुमारानी गाउँपालिका–१ बाङ्गेशालमा देखिएको सलह सोमबार प्युठानका गाउँगाउँमा प्रवेश गरेको थियो ।

सलहले प्युठान नगरपालिकासँगै जिल्लाका नौबहिनी, ऐरावती, गौमुखी, सरुमारानी, माण्डवी र भिमरुक गाउँपालिकामा बाली नष्ट गरेको अधिकृत खनालको भनाइ छ ।

कोरोनाको तनावका बीच भित्रिएको सलहले हुर्कँदै गरेको कोदो र मकैबाली नष्ट गरेपछि खाद्यान्न अभाव हुने भएपछि किसान चिन्तामा परेका छन् ।

क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी राहत दिन किसानले सरकारसँग आग्रह गरेका छन् । रासस