
सुरेन्द्र भण्डारी (इमेज)
झापा, असार ३० । शिक्षित महिलाहरु नै मानव तस्करको फन्दामा पर्ने गरेको खुलेको छ ।
विभिन्न प्रलोभन देखाएर भारतको मणिपुर पुर्याएका २१ जना नेपाली महिलाको उद्धार गरिएसँगै यस्तो रहस्य खुलेको हो ।
उद्धार गरिएका उनीहरुलाई पूर्वी नाका काँकडभिट्टा हुँदै नेपाल ल्याइएको छ ।
भारतको मणिपुरमा अलपत्र परेका महिलालाई उद्धार गरेर मंगलबार बिहान काँकडभिट्टा ल्याइएको हो ।
वैदेशिक रोजगारीका लागि भनी गएका उनीहरु लामो समयदेखि अलपत्र परेको सूचना पाएपछि माइती नेपालको अगुवाइमा उनीहरुको उद्धार गरेको माइती नेपालका प्रदेश नम्बर–१ का संयोजक गोविन्द घिमिरेले जानकारी दिनुभयो ।
‘लकडाउन’भन्दाअघि नै स्थलमार्गबाट उनीहरुलाई त्यहाँ पुर्याइएको बताइएको छ ।
दलालले उनीहरुलाई विभिन्न देशमा राम्रो कामसँगै राम्रो तलबको लोभ देखाएर त्यहाँ पुर्याएको घिमिरेको भनाइ छ ।
उद्धारमा नेपाल सरकारका उपसचिव गोमा ढकाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौं, भारतस्थित नेपाली दूतावास, भारतमा रहेको उज्यालो होम र माइती नेपाल संलग्न रहेको माइती नेपाल प्रदेश–१ संयोजक घिमिरेले जानकारी दिनुभयो ।
उद्धार गरिएका उनीहरु देशका विभिन्न स्थानका रहेका छन् । उनीहरुलाई माइती नेपालको स्नेहगृह सतिघट्टामा राखिएको छ ।
उनीहरुमध्ये १२ जनालाई बुधबार काठमाडौं लगिने र अरुलाई काँकडभिट्टाबाटै अभिभावकको जिम्मा लगाउने तयारी भइरहेको घिमिरेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्