१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाढीपहिरोमा बेपत्ताहरु भोटेकोशीले बगाएको आशंका


0
Shares

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोसी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ ।

बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोसीले बगाएको आशंका हुन थालेको छ ।

चार दिनदेखि मङ्गलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव भेटिने सम्भावना ज्यादै न्यून रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बाढी र पहिरोले सडकको सतहभन्दा धेरै माथिसम्म पुरिने गरी माटोसहित ठूला–ठूला ढुङ्गा थुपारेको हुँदा स्काभेटरले समेत हटाउन कठिनाइ परेकाले समस्या उत्पन्न भएको छ ।

उद्धारकार्यका लागि काठमाडौँबाट आएको २५ सदस्यीय टोली पनि मंगलबार फर्किसकेको छ । बाढी र पहिरोले बाह्रबिसेदेखि मितेरी पुलसम्म १५ ठाउँमा सडक बिग्रेको प्रहरी निरीक्षक न्यौपानेले बताउनुभयो ।

बाह्रबिसेको खागदल खोलाको पुल बगाएपछि अस्थायी काठको फटके राखिएको छ । खोर्सानीबारीको सडक बगाएपछि घुमाउरो बाटो हुँदै जलेटार ब्यारेक भएर फटके तरेर पारी जानुपर्ने बाध्यता छ ।

डिभिजन सडक कार्यालय दोलखाले सुनकोसी नदीले बगाएको जुरेको करिब १५० मिटर सडक भित्ता काटेर सानो गाडी चल्ने सक्ने सडक निर्माण गरेपछि बाह्रबिसेसम्मको यात्रा सहज भएको छ ।

बाह्रबिसे नगरपालिका–५ खागदल र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गरी दुई बेलिब्रिज राख्नलाई सामान काठमाडौँमा तयारी हालतमा रहे पनि सडक अवरुद्धका कारण ल्याउन सकिएको छैन ।