काठमाडौं, असार ३१ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको ‘वान अन वान’ छलफलमा कुनै प्रगति नभएको बताइएको छ ।
अघिल्लो हप्ता स्थगित भएको छलफलमा बुधबार कुनै प्रगति नभएको नेताहरुले बताएका छन् ।
अध्यक्षद्वयबीच सहमति नभएकाले स्थायी कमिटीको बैठक असार १६ गतेयता अवरुद्ध छ ।
बैठक पछिल्लोपटक असार २६ गतेलाई तय गरिएको थियो । तर, मुलुकमा बाढी–पहिरोलगायतका प्रकोपका कारण बैठक एक साता धकेलिएको छ ।
स्थायी कमिटीको पाँचौं बैठक सुरु भएपछि दुई अध्यक्षबीच आजसम्म गरी छैटौंपटक वान अन वान वार्ता भएको छ । तर, अध्यक्षद्वयबीच पुरानै रटान कायमै छ ।
नेकपाभित्रको आन्तरिक किचलो अहिले उत्कर्षमा छ । ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने उहाँइतरको मत छ ।
प्रतिक्रिया दिनुहोस्