
मीरा बस्नेत र दिलिप पोखरेल (इमेज)
काठमाडौं, साउन १ । कोराना महामारीका कारण सरकारले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि विदेशमा ज्यान गुमाएका नेपालीका शव महिनौंसम्म अलपत्र परेका थिए ।
वैदेशिक रोजगार बोर्डले ‘लकडाउन’को अवधिमा मात्र वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका १६६ शव नेपाल ल्याइसकेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण सरकारले गत चैत ९ गतेबाट बन्द गरेको अन्तर्राष्ट्रिय उडान साउन १० गतेसम्म यथावत् नै छ ।
वैदेशिक रोजगार बोर्डले गत जेठ २३ गतेबाट विदेशमा अलपत्र परेका नेपालीको शव ल्याउन सुरु गरेको हो ।
लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ४०६ ओटा शव विदेशमा अलपत्र परेका थिए । उडान बन्द भएपनि बोर्डले हालसम्म १६६ ओटा शव नेपाल ल्याइसकेको छ ।
बोर्डले १४६ ओटा शव गन्तव्य मुलुकमा अन्त्येष्टिका लागि समन्वय गरिसकेको छ भने अझै ९४ ओटा शव विदेशमा नै अलपत्र रहेको छ ।
वैदेशिक रोजगार बोर्डले लकडाउनको अवधिमा मलेसियाबाट ६३, साउदी अरबबाट १४३ र कतारबाट ६४ शव नेपाल ल्याएको छ ।
यस्तै, युएईबाट ७९, कुवेतबाट १७ र बहराइनबाट नौजनाको शव ल्याएको छ भने ओमानबाट दुई, दक्षिण कोरियाबाट छ र अन्य मुलुकबाट २३ जनाको शव ल्याएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाको मृत्यु भएमा शव स्वदेश फर्काउने जिम्मा बोर्डको हो ।
विदेशमा महिनौंदेखि अलपत्र परेका शव स्वदेश ल्याउनको लागि सम्बन्धित देशको राजदूतावास वा कूटनीतिक नियोगलाई आवश्यक खर्च पठाउने र पराराष्ट्र मन्त्रालयमार्फत् समन्वय गरी शव ल्याइरहेको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदी बताउनुहुन्छ ।
संकटको समय भएकोले शव बुझ्न लागि परिवार आउनसक्ने स्थिति नभएको भन्दै बोर्डले निःशुल्करुपमा शववाहनको व्यवस्था गरी स्थानीय प्रशासनको रोहबरमा सम्बन्धित परिवारलाई बुझाउने गरेको छ ।
संकटको समयमा पनि महिनौंसम्म विदेशमा अलपत्र परेका नेपालीको शव स्वदेश ल्याउन सरकारले थालेको कदम स्वागतयोग्य छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्