
काठमाडौं । ठेकेदार कम्पनीले गरेको कामको गुणस्तरको बेवास्ता गर्दै मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउन हतार गर्दा आयोजनाको सुरुङ फुटेर एक इन्जिनियर सहित दुई जनाले ज्यान गुमाउनु परेको छ ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई मेलम्चीको पानी काठमाडौ पुर्याएको क्रेडिट लिने लहड र आयोजनालाई गुणस्तर भन्दा पनि छिटो सक्ने चटारोले आयोजनाको सुरुङमा गम्भीर दुर्घटना भएको हो ।
काम कस्तो भयो भन्दा पनि कति सकियो भन्ने हतारोमा मन्त्री र मन्त्रीलाई खुसी पार्न बढि काम देखाउने आयोजना र ठेकेदार कम्पनीको ध्याउन्नका कारण खोलाको पानीको प्रेसर थाम्न नसक्ने संरचना बनाउँदा आयोजना आफै दुर्घटनाको शिकार बन्नु परेको छ ।
अस्थायी बाँध बनाएर वर्षातको समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढि भएर सुरुङ ‘सिफेज’ भएको प्राविधिकहरु बताउँछन् ।
आयोजनाले सुरुङ के कारणले फुटेको भनि आधिकारिक कारण नदिएपनि हतारमा भएको गुणस्तरहीन काम नै प्रमुख कारण भएको आयोजनामा काम गरिसकेका एक प्राविधिकले बताए ।
नाम उल्लेख नगर्ने शर्तमा ती प्राविधिकले बताए अनुसार मन्त्रीको चटारो र आयोजनासम्वद्ध अधिकारीको कमिसनको खेलले सुरुङको काम गुणस्तरीय नहुँदा आयोजनाले गम्भीर घाटा व्यहोर्नु परेको छ ।
उनका अनुसार जम्मा चार किलोमिटरको प्रेसर थेग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी पठाएको भए अझ दुर्घटना भयाबह हुने थियो ।
‘चार किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दुर्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दुर्घटना भएको भए अबस्था अझ गम्भीर हुन्थ्यो’, उनले भने, ‘सुन्दरीजलबाट पानी फर्कंदा आयोजनाको मुहान तलका धेरै बस्ती जोखिममा पर्थे ।’
उनका अनुसार थोरै क्षेत्रमा नै दुर्घटना भएकाले धेरै जनधनको क्षति हुने अबस्थाबाट भने जोगिएको छ ।
‘मेलम्चीपछि कार्यान्वयनमा आउने दोस्रो र तेस्रो चरणको याङ्ग्री र लार्केको समेत गरी दैनिक ५१ करोड लिटर पानी लान निर्माण गरेको सुरुङ पहिलो चरणको १७ करोड लिटरको परीक्षणमै पड्कियो’, ती प्राविधिकले व्यंग्य गरे, ‘तपाईं आफै भन्नुस मेलम्ची आयोजनाको काम कति गुणस्तरीय भएको रहेछ ।’
आयोजनाको लापरबाहीका कारण दुई दशकपछि मेलम्चीको पानी खान पाउने काठमाडौबासीको उत्साह मात्र सेलाएको छैन बाँकी २१ किलोमिटर सुरुङको अबस्थामा समेत गम्भीर शंका उत्पन्न गराएको छ ।
मेलम्ची आयोजनालाई नजिकबाट नियालिरहेका एक विश्लेषकका अनुसार मन्त्री मगरको हतारमा काम सकेर आयोजना सम्पन्न गराएको क्रेडिट खाने लालशा नै निर्मित संरचना कमजोर हुनुको मूख्य कारण हो ।
पछिल्लो समय सुरुङको काम सम्पन्न गर्ने ठेक्का पाएको चिनिया कम्पनी सिनो हाइड्रो यसको मुख्य जिम्मेवार हो ।
इटालियन कम्पनीले ठेक्का रद्ध गरेपछि मन्त्री परिषदबाट हतारमा अस्थायी बाँध बनाउने ठेक्का दिने निर्णय गराएर मन्त्री मगर समेतको संलग्नतामा कमिसनको खेल भएको र त्यसले पनि निर्माण कार्यको गुणस्तरमा अनुगमन हुन नसकेको जानकारहरु बताउँछन् ।
सिनो हाइडोलाई ठेक्का दिने क्रममा समेत आर्थिक चलखेल भएको चर्चा चलेको थियो ।
निर्धारित समय भन्दा छिटो काम सके प्रोत्साहन स्वरुप बोनस दिने निर्णयले पनि निर्माण कम्पनीले गुणस्तरमा भन्दा काम सक्न हतार गरेकाले सुरुङको संरचना मजबुत हुन नसकेको प्राविधिकको ठम्याइ छ ।
दुर्घटनापछि मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छानवीनको लागि प्राविधिक समिति खटाएको छ ।
प्राविधिक त्रुटीले कमजोर बनाएको सुरुङको संरचना परीक्षणका लागि स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्नेमा मन्त्रालयकै कर्मचारीलाई पठाएर कमजोरी ढाकछोप गर्न लागेको एकपक्षले आरोप लगाएका छन् ।
‘मन्त्री मगरले आफ्नो र आयोजनाको कमजोरी ढाकछोप गर्न मन्त्रालयकै टोली छानवीन गर्न पठाएकी छिन्’ , आयोजना निकट स्रोत भन्छ, ‘आयोजनाको कमजोरी भएकाले त्यसको लागि स्वतन्त्र निकायलाई छानवीन गराउनु पथ्र्यो ।’
बिहिबार घटनास्थल अम्बाथान पुगेका छानवीन टोलीका संयोजक दवाडीले पानीको प्रेसरका कारण सुरुङको भित्री संरचनामा क्षति पुगेको नदेखिएको बताए ।
वृस्तृत अध्ययन सक्न बाँकी भएकाले खास कारण उल्लेख गर्न केही समय लाग्ने बताउँदै उनले नटबोल्टले अड्याइएको गेटमा पानीको प्रेसरले नटबोल्ट खुस्किंदा गेट खुलेर पानी बाहिर आएको प्रारम्भीक अध्ययनका क्रममा देखिएको जानकारी दिए ।
‘नटबोल्टले अड्याइएको गेटको नट खुस्केर गेट खुलेको देखियो’, दवाडीले टेलिफोनमा भने, ‘सुरुङ भित्रको संरचनामा भने कुनै समस्या र क्षति देखिएको छैन ।’
उनले केही दिनमै अध्ययनपछि देखिएको अवस्थाको छलफलबाट प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने आश्वासन दिए ।
इन्जिनियरको टोली पानीको प्रेसर नाप्न जाने क्रममा गेट खुलेर पानी बाहिर निस्कँदा उनीहरुलाई बगाएको पनि उनले जानकारी दिए ।
स्टिमेटमा वा निर्माणका क्रममा के मा कमजोरी भएको हो सो भने अध्ययन प्रतिवेदनपछि बाहिर आउने उनले बताए ।
खानेपानीको सुरुङ पूर्ण रुपमा कंक्रिट ढलान समेत गरिएको छैन । कतै कतै ढलान गरेको सुरुङबाट जाने पानीमा माटो र चट्टानमा हुने विभिन्न तत्व मिसिंदा पानी पिउन लायक नहुने तर्फ समेत आयोजना सचेत नदेखिएको प्राविधिकको भनाई छ ।
आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्री भने बढि खर्चिलो हुने भएकाले सबै ठाउँमा कंक्रिट ढालान नगरिएको बताउँछन् ।
उनको भनाईमा चट्टान भएको ठाउँमा आबश्यक नपर्ने भएकाले माटो देखिएको ठाउँमा मात्र ढलान गरिएको छ ।
मन्त्रालयको प्राविधिक टोलीले छानीन गरी दुर्घटनाको कारण बताउने उल्लेख गर्दै खत्री सुरुङ परीक्षण मात्र भएकाले हतार गरेको भन्न नमिल्ने तर्क गर्छन् ।
‘निर्माण कम्पनीले काम सकियो भनेकाले हामीले परीक्षण सुरु गराएका हौं’, खत्री भन्छन्, ‘निर्माणकै चरणमा पनि आयोजनाले गर्नुपर्ने अनुगमन गरेको छ , त्रुटी कहाँनेर भन्ने प्राविधिक समितिले पत्ता लगाउला ।’
सिनो हाइडोलाई ठेक्का दिएपछि आयोजनाले हतार हतार मुहानमा अस्थायी बाँध बनाउने र इटालियन कम्पनीले अजकल्टो छाडेको सुरुङको काम सकेर गत असार २१ गते स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नै नदिई सुरुङ परीक्षणको उद्घाटन गरेको थियो ।
मुहानमा मन्त्री मगरको उपस्थिति बिना बोकाको बली दिएर बौद्ध धर्म गुरुलाई मन्त्र पढ्न लगाएर उद्घाटन गरेपछि राजधानीमा मन्त्री मगरले हर्सोल्लास सहित पत्रकार सम्मेलन गरी मेलम्ची आयोजना पूरा भएको घोषणा गरेकी थिइन् ।
पत्रकार सम्मेलन गरेर मेलम्ची अब काठमाडौबासीको सपना नरहेर बिपनामा परिणत भएको उद्घोष गरेको साता बित्दै सुरुङको गेट फुटेर मानवीय क्षति समेत हुनुले मन्त्री मगरलाई क्रेडिट लिने हतारोले आयोजनाको काम कमजोर भएको पुष्टि गरेको छ । आजको अन्नपुर्ण पोष्ट दैनिकबाट
प्रतिक्रिया दिनुहोस्