
काठमाडौं, साउन २ । अखिल नेपाल फुटबल संघ (एन्फा)को छानबिन समितिले कास्की जिल्ला फुटबल संघमा भएको अनियमितताबारे गरेको छानबिन प्रतिवेदन बुझाएको छ ।
छानबिन समितिले ११ दिन लगाएर तयार गरेको प्रतिवेदन छानबिन समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष वीरबहादुर खड्काले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई शुक्रबार बुझाउनुभएको हो ।
जिल्ला फुटबल संघमाथि आर्थिक अनियमितताको गम्भीर आरोप लागेपछि एन्फाले केन्द्रीयस्तरको छानबिन समिति गठन गरेको थियो ।
एन्फा प्रवक्ता किरण राईले प्रतिवेदन बुझिएको र अब कार्यसमितिमा प्रतिवेदन खोलेर त्यसमा गम्भीर छलफल गरी निर्णय लिइने बताउनुभयो ।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ पटक–पटक आर्थिक विवाद र ठगीको मुद्दामा मुछिएसँगै जिल्ला फुटबल संघभित्रको अनियमितता बाहिर आएको थियो ।
कास्की एन्फाले २०७५ मा आयोजना गरेको मनकामना कप, जिल्ला लिग, जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता, प्रदेशस्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता तथा पुरुष र महिलाको अन्तरविद्यालय फुटबल प्रतियोगिताको कागजात बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस्