
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केही सचिवालय सदस्यको आइतबार बिहान बैठक बसेको छ ।
बैठकमा प्रचण्ड निवास खुमालटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी भएका हुन् ।
नेता नेपालनिकट केही स्थायी समिति सदस्यहरू पनि खुमलटार पुगेको बताइएको छ ।
३ बजे बोलाइएको नेकपाको स्थायी समिति बैठक अघि दाहाल–नेपाल पक्ष बैठक बसेका हुन् ।
शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच चोचोमोचो भएको भन्दै वरिष्ठ नेता माधव नेपालले असन्तुष्टि जनाएका थिए ।
सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने दुई अध्यक्षको धारणा एउटै आएपछि सचिवालयका अन्य सदस्यहरुले यसलाई दुई अध्यक्ष मिलेको रूपमा बुझेका थिए ।
तर प्रचण्डको सचिवालयले भने यसलाई खण्डन गरेको थियो । प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले दुई अध्यक्षबीच कुनै सहमति नभएको र सम्पूर्ण विषय छलफलकै क्रममा रहेको सामाजिक सञ्जालमार्फत बताएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्