१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साउने सोमबारमा पनि पशुपतिनाथ मन्दिर सुनसान, बोलबम यात्रा प्रभावित


0
Shares

काठमाडौं । आज साउनको पहिलो सोमबार । अघिल्ला वर्षहरुमा पशुपतिमा रातिदेखि नै दर्शनार्थीको घुईंचो लाग्थ्यो । तर यस वर्ष पशुपति मन्दिर सुनसानजस्तै छ ।

पशुपति क्षेत्र विकास कोषले मन्दिर नखोल्ने जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण गएको चैत ११ गतेदेखि नै बन्द गरिएको पशुपतिनाथको मन्दिर आज पनि नखुल्ने भएको हो ।

सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालय लगायत नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार भए पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो ।

उहाँले कोरोनाको जोखिम कायमै रहेकाले घर घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गर्नुभएको छ । पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ ।

महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजापाठ गर्न कोषले आग्रह गरेको हो । यसैबीच पशुपति मन्दिरमा हुने नियमित नित्य पूजा भने आज पनि हुनेछ ।

लकडाउनका बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको नित्य पूजा भइरहेकै छ । यस्तै बेलुका हुने आरती पनि विधिपूर्वक एक जनाले गर्दै आएका छन् ।