
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउँदा १७ नम्बरको गेटको नटबोल्ट खुस्केर दुर्घटना भएको छानविन समितिले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
दुर्घटनापछि खानेपानी तथा सरसफाई मन्त्रालयले आफ्नै मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा गठन गरेको छानबिन समितिले यस्तो निष्कर्ष निकालेको हो ।
विस्तृत अध्ययन गर्न बाँकी भएतापनि खास कारण उल्लेख गर्न केही समय लाग्ने बताउँदै नटबोल्टले अड्याइएको गेटमा पानीको प्रेसरले नटबोल्ट खुस्किंदा गेट खुलेर पानी बाहिर आएको प्रारम्भीक अध्ययनका क्रममा देखिएको बताइएको छ ।
छानविन टोलीका संयोजक दवाडीले भन्नुभयो, ‘नटबोल्टले अड्याइएको गेटको नट खुस्केर गेट खुलेको देखियो सुरुङ भित्रको संरचनामा भने कुनै समस्या र क्षति देखिएको छैन ।’
इन्जिनियरको टोली पानीको प्रेसर नाप्न जाने क्रममा गेट खुलेर पानी बाहिर निस्कँदा उनीहरुलाई बगाएको पनि उहाँले जानकारी दिनुभयो ।
निर्माणका क्रममा के मा कमजोरी भएको हो सो भने अध्ययन प्रतिवेदनपछि बाहिर आउने उहाँले बताउनुभयो ।
यसै क्षेत्रका प्रदेश सभा सदस्य निमा लामाले मन्त्री विना मगरको हतारोका कारण मेलम्ची दुर्घटना भएको बताउनुभएको छ ।
स्थानीय र प्राविधिकहरुले काम सकिएको छैन् बेला भएको छैन भनिरहेको बेला कोहीलाई थाहा नै नदिई जस लिनको लागि गरेको हतारोका कारण दुर्घटना भएको हो उहाँले भन्नुभयो, ‘त्यत्रो तामझामसहित हल्ला गरेर उद्घाटन गर्ने मन्त्री आफ्नै कर्मचारी मर्दा र बेपत्ता हुँदा किन चुप हुनुहुन्छ ?’
काम कस्तो भयो भन्दा पनि कति सकियो भन्ने हतारोमा मन्त्री र मन्त्रीलाई खुसी पार्न बढि काम देखाउने आयोजना र ठेकेदार कम्पनीको ध्याउन्नका कारण खोलाको पानीको प्रेसर थाम्न नसक्ने संरचना बनाउँदा आयोजना आफै दुर्घटनाको शिकार बन्नु परेको लामाको तर्क छ ।
लामाले तपोभूमि हेलम्बुमा बोकाको बलि दिएका कारण पनि यस्तो दुर्घटना भएको हुनसक्ने शंका गर्नुभएको छ । हेलम्बु तपोभूमि हो यहाँ काटमार निषेध गरिएको छ । सुरुङमा पानी पठाउने दिन मुहानमा कालो बोका काटेर बलि दिइएको थियो । त्यसको सम्पूर्ण ह्यल्मोवासीले विरोध जनाएका छन् ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले काम नै नसकी हतार हतार उद्घाटन गर्दा दुर्घटना भएको बताउनुभएको छ । निर्माणको काम बाँकी नै छ सुरुङ सम्पुर्ण रुपमा ढलान भएको छैन तैपनि एक्कासि किन मन्त्री ज्यूले यसो गर्नुभयो थाहा भएन ।

अध्यक्ष शेर्पाले नेकपामा देखिएको विवादको कारण पनि हतारमा पानी काठमाडौं लान लागेको देखिन्छ । नेकपामा मन्त्री हेरफेरको कुरा चल्दा मन्त्री मगरको पनि नाम आएको थियो ।
आफू मन्त्री छदैं सुरुङमा पानी हाल्न पाए आफूलाई जस मिल्ने भन्दै कामै नसकि उद्घाटन गर्दा यो दुर्घटना भयो उहाँले बताउनुभयो । शेर्पाका अनुसार जम्मा चार किलोमिटरको प्रेसर थेग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी पठाएको भए अझ दुर्घटना भयाबह हुने थियो ।
‘चार किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दुर्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दुर्घटना भएको भए अवस्था अझ गम्भीर हुन्थ्यो’, उहाँले भन्नुभयोे, ‘सुन्दरीजलबाट पानी फर्कंदा आयोजनाको मुहान तलका धेरै बस्ती जोखिममा पर्थे ।’
आयोजनाको काम नै नसकी हतार हतारमा पानी सुरुङमा पठाउँदा दुर्घटना भएको प्राविधिकहरुले पनि बताएका छन् ।
खानेपानीको सुरुङ पूर्ण रुपमा कंक्रिट ढलान समेत गरिएको छैन । कतै कतै ढलान गरेको सुरुङबाट जाने पानीमा माटो र चट्टानमा हुने विभिन्न तत्व मिसिंदा पानी पिउन लायक नहुनेतर्फ समेत आयोजना सचेत नदेखिएको प्राविधिकको भनाई छ । आयोजनाका कार्यकारी निर्देशक तिरेशकुमार खत्री भने बढि खर्चिलो हुने भएकाले सबै ठाउँमा कंक्रिट ढलान नगरिएको बताउँनुहुन्छ ।
खत्रीका अनुसार चट्टान भएको ठाउँमा आबश्यक नपर्ने भएकाले माटो देखिएको ठाउँमा मात्र ढलान गरिएको हो । निर्माण कम्पनीले काम सकिएको भनेपछि सुरुङ परीक्षण गरेको खत्रीको दाबी छ ।
सिनो हाइडोलाई ठेक्का दिएपछि आयोजनाले हतार हतार मुहानमा अस्थायी बाँध बनाउने र इटालियन कम्पनीले छाडेको सुरुङको काम सकेर गत असार २१ गते स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नै नदिई सुरुङ परीक्षणको उद्घाटन गरेको थियो ।
आयोजनाको लापरबाहीका कारण दुई दशकपछि मेलम्चीको पानी खान पाउने काठमाडौबासीको सपना फेरि अधुरै भएको छ । साथै बाँकी २१ किलोमिटर सुरुङको अबस्थामा समेत गुणस्तरीयतामा समेत प्रश्न उब्जिएको छ ।
पछिल्लो समय सुरुङको काम सम्पन्न गर्ने ठेक्का पाएको चिनिया कम्पनी सिनो हाइड्रो यसको मुख्य जिम्मेवार हो ।
इटालियन कम्पनीले ठेक्का रद्ध गरेपछि मन्त्री परिषदबाट हतारमा अस्थायी बाँध बनाउने ठेक्का दिने निर्णय गराएर मन्त्री मगर समेतको संलग्नतामा कमिसनको खेल भएको र त्यसले पनि निर्माण कार्यको गुणस्तरमा अनुगमन हुन नसकेको जानकारहरु बताउँछन् ।
सिनो हाइडोलाई ठेक्का दिने क्रममा समेत आर्थिक चलखेल भएको चर्चा सँगैं व्यापक विरोध भएको थियो । निर्धारित समय भन्दा छिटो काम सके प्रोत्साहन स्वरुप बोनस दिने निर्णयले पनि निर्माण कम्पनीले गुणस्तरमा भन्दा काम सक्न हतार गरेकाले सुरुङको संरचना मजबुत हुन नसकेको प्राविधिकको ठम्याइ छ ।
मेलम्ची खानेपानी आयोजनामा पानी परीक्षणका लागि सुरुङमा पठाएको एक हप्तापछि सुरुङको १७ नम्बरको गेट खुल्दा चार जना कर्मचारीलाई बाढीले बगाएको थियो । दुई जनाको उद्धार भएको थियो भने दुईलाई बाढीले बगाएको थियो । बगाएका दुईमध्ये एकजनाको शव भेटएको छ भने एकजना अझै बेपत्ता छन् ।
प्रतिक्रिया दिनुहोस्