
काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालयमा मापदण्डविपरीत नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तालाबन्दी गरेको छ ।
संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयमा तालाबन्दी गरेको हो ।
विश्वविद्यालयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरू भर्ती गरेको आरोप नेविसंघको छ ।
विश्वविद्यालयको व्यवस्थापनभन्दा पनि अमुक पार्टीका कार्यकर्ताको व्यवस्थापन गर्नेगरी हालै विभागीय प्रमुख, क्याम्पस प्रमुख, डीनहरूको नियुक्ति गरिएको संघको आरोप छ ।
यी सम्पूर्ण नियुक्ति खारेज गरी विश्वविद्यालय मापदण्डअनुसार नयाँ नियुक्ति नगरेसम्म तालाबन्दी जारी रहने संघको चेतावनी छ ।
संघले उक्त निर्णय सच्याउनेलगायत आफूले राख्दै आएका विभिन्न मागको सुनुवाइ नभएकाले बाध्य भएर आन्दोलनमा उत्रन परेको जनाएको छ ।
विश्वविद्यालयको मापदण्डअनुसार निष्पक्षताका आधारमा रिक्त पदाधिकारीहरुमा पदपूर्ति गर्न संघले माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्