
काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले विश्वका चर्चित तीन वटा लिगमा कम्तिमा ५० गोल गर्ने किर्तीमान बनाएका छन् ।
उनले इटालियन सिरी ए, स्पेनिस ला लिगा तथा इंग्लिस प्रिमियर लिगमा यो किर्तीमान बनाएका हुन् ।
‘सिरी ए’ फुटबल अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले लाजिओलाई २–१ ले हराउँदा दुबै गोल रोनाल्डोले गरे ।
यो सँगै रोनाल्डोले जारी सिजनको लिगमा आफ्नो ३० गोल पूरा गरेका छन् । अघिल्लो सिजन २१ गोल गरेका रोनाल्डोले दुई सिजनकै ५१ गोल पूरा गरेका हुन् ।
गएरातिको जितसँगै युभेन्टस इटालीयन सिरी ए फुटबलको उपाधि नजिक पुगेको छ । उसको ३४ खेलबाट ८० अंक भएको छ ।
दोस्रो स्थानको इन्टर मिलानको ७२, तेस्रो स्थानको एट्लान्टाको ७१ तथा चौथो स्थानको लाजिओको ६९ अंक रहेको छ ।
युभेन्टसले अब बाँकी रहेका चार खेलबाट चार अंक मात्रै जोडेको अवस्थामा पनि लगातार नवौँ पटक उपाधि जित्ने छ ।
प्रतिक्रिया दिनुहोस्