काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बस्दैछ । लगातार स्थगित हुँदै आएको नेकपाको बैठक आज पनि बस्ने निश्चित छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि तय भएको वैठक १ वजेका लागि सरेको बैठक अहिलेसम्म बस्न सकेको छैन् । पार्टीको पूर्व माओवादी खेमा अब बैठक रोक्न नहुने पक्षमा देखिएको छ ।
हिजो बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादीका सबै स्थायी कमिटि सदस्यहरुलाई खुमलटारस्थित निवासमा बोलाएर पार्टीको विवादबारे छलफल गर्नुभएको थियो ।
उक्त भेलामा सहभागी अधिकांश नेताहरुले अब बैठकबाटै निकास निकाल्न सुझाव दिँदै स्थायी कमिटिको बैठक रोक्न नहुनेमा जोड दिएका थिए ।
भेलाले पार्टीको विवादलाई तत्कालका लागि सुरक्षित अवतरण गर्ने ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डलाई सुझाव दिएको थियो ।
पार्टीको पूर्व माओवादी खेमा तत्कालका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिने अडानबाट पछि हटेको संकेत मिलेको छ ।
केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष र त्यसपछि प्रधानमन्त्री समेत बन्न प्रस्ताव गरेपछि प्रचण्ड समूह लचक बनेको अनुमान गरिएको छ ।
खुमलटार भेलामा प्रचण्डले आफूलाई महाधिवेशनपछि एकल अध्यक्ष र प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्