१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढीले ओलाङचुङगोलाका दुई पुल बगायो


0
Shares

ताप्लेजुङ । अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ ।

फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो ।

बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ ।

यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ ।

सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो ।

यस्तै दुई पुल बग्दा करिब १४ लाख बराबरको क्षति भएको छ । पक्की पुल १२ लाख र काठको पुल भने दुई लाखको लागतमा निर्माण भएको थियो ।

यता तमोरको उद्गमस्थलबाट नै बाढी आएपछि नदी किनारमा पर्ने तापेथोक, सिवाँ, थिवा, हान्द्रुङ, दोभान बजारलगायतका बासिन्दा त्रसित बनेका छन् ।

तमोरमा करिब एक दशकयताकै ठूलो बाढी आएको स्थानीयवासीको भनाइ छ । नदीको उद्गमस्थलमा पर्ने पोखरी फुटेर बाढी आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । रासस