
काठमाडौं । नेपाली सेनाले केही दिनदेखिको अविरल वर्षा, बाढी, पहिरो र डुबानबाट प्रभावित भएका १६ जिल्लामा एक हजार भन्दा बढी सेना परिचालन गरेको जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलले हामीसँग कुरा गर्दै आवश्यक उपकरणसहित तत्काल खोजी र उद्धार कार्यमा नेपाली सेना जुटिरहेको जनाउनुभएको छ ।
उक्त जनशक्तिले पहिरोमा हराएका व्यक्तिको खोजी, डुबानमा परेका नागरिकको उद्धार, राजमार्गको पहिरो पन्छाउन तथा नदीले कटान गरेको क्षेत्रका बस्ती संरक्षणका लागि तटबन्ध निर्माणमा संलग्न रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
सेनाले उद्धारका लागि सुर्खेतमा २ वटा, चितवन र इटहरीका एक एक वटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ ।
बाढी, पहिरो र डुबानमा परेका व्यक्तिको तत्काल उद्धारका लागि पोखरा, बर्दिवास, इटहरी, चितवन, भरतपुर, गजुरी र रौतहट लगायत स्थानबाट तालीम प्राप्त दक्ष जनशक्तिसहित उपकरण परिचालन गर्ने तयारी पनि गरेको छ ।
अविरल वर्षाका कारण आकस्मिक रुपमा हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सेनाले पूर्वतयारीको सिलसिलामा भरतपुर, सुर्खेत र इटहरीमा हेलिकोप्टर सहितको आवश्यक जनशक्ति तयारी अवस्थामा राखेको छ ।
मुलुकभर केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण पहाडी जिल्लामा बाढीपहिरो तथा मध्य तराईका जिल्लामा डुबानको समस्या देखिएको छ ।
बाढीपहिरोबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ । निरन्तरको वर्षाका कारण मुलुकका नदी तथा खोलामा पानीको बहाव उच्च रहेको छ ।
बाढीपहिरो र डुबान प्रभावित परिवारको राहत र उद्धारका लागि तीन तहकै सरकार र संघसंस्थाबाट विभिन्न सहयोग भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्