१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ओख्रेका संगठित युवाहरुले सुरु गरे सडक मर्मत, स्थानीय सरकारलाई खबरदारी


0
Shares

-प्रकाश पाक्साँवा/ईमेज

तेह्रथुम । वर्षाका कारण तेह्रथुमका ग्रामीण सडकहरु अस्तव्यस्त बनेका छन् ।

सडक मर्मतका लागि स्थानीय सरकारले चासो दिएको छैन । तर, छथर गाउँपालिका ओख्रेका युवाहरु संगठित भएर सडक मर्मत कार्यमा आफै जुटेका छन् ।

असार मसान्तमा सडक बिस्तार, मर्मत सम्भार तथा निमार्णको शिर्षकमा राज्यले करोडौ रुपैयाँ खर्चियो तर सडकको अवस्था जस्ताको त्यस्तै छ ।

वर्षाका कारण सडकका विभिन्न स्थानहरुमा पहिरो र खाल्डाखुल्डीले सडक जिर्ण बन्दै गएको छ ।

दुर्गम गाउँ र बजार जोड्ने सडकमा अत्यावश्यक सवारी साधन गुड्न नसक्दा नागरिकलाई सास्ती भएका कारण छथर गाउँपालिका–५ ओख्रेका युवा सडक मर्मतमा जुटेका हुन ।

युवाहरु संगठित भएर जोखिमयुक्त सडकको मर्मतमा जुटेको ग्रामीण विकास युवा संगठनका अध्यक्ष डोलन तिगेला बताउनुहुन्छ ।

सडक अवरुद्ध हुँदा यहाँका स्थानीयलाई बिरामी स्टेचरमा राखेर घण्टौं लाग्ने लामो बाटो हुँदै अस्पताल पु¥याउनु पर्ने बाध्यता छ ।

स्थानीय सरकारले ध्यान नदिँदा युवाहरु मिलेर सडक मर्मत गरी सरकारलाई खबरदारी गरेको स्थानीय डुण्डी ढकालको भनाइ छ ।

युवाहरुले शुक्रबारे–ओख्रे सडकखण्डको विभिन्न स्थानमा पहिरो पन्छाउने, नाली काट्ने, सामान्य सोलिङलगायतका मर्मत कार्य गर्दै आएका छन् ।

यहाँका युवाहरुले हरेक शनिबार सडक, खानेपानी तथा विद्युत लाइनको रेखदेख गर्ने तयारी गरिरहेको संगठनका उपाध्यक्ष डन्जन सुवार बताउँछन् ।

युवाहरुले सडकको विभिन्न स्थानमा मर्मत गरेपछि मोटरसाइकल तथा पैदल यात्रीलाई केही सहज भएको छ ।