
प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, साउन ७ । सरकारले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लागू गरेको ‘लकडाउन’ खुलाएपछि सहर–बजारमा चहलपहल ह्वात्तै बढेको छ । तर, लकडाउन खुलेपनि कोरोना संक्रमितको संख्यामा भने कमी आएको छैन ।
सचेतनाको काम पर्याप्त नभएको अवस्थामा आगामी दिन संक्रमणको जोखिम हुनेमा विज्ञहरुको चिन्ता छ ।
दैनिक १०० माथि नयाँ कोरोना संक्रमित थपिरहेको समयमा झन्डै चार महिना लामो लकडाउन खुलाइएपनि नेपाल जोखिममुक्त अवस्थामा पुगिनसकेकोले आवश्यक सतर्कता अनिवार्य भएको विज्ञहरुको भनाइ छ ।
उनीहरु भन्छन्, ‘नेपालमा संक्रमण कम भएको होइन ।’
स्वास्थ्य मन्त्रालयले पनि संक्रमितको संख्या कम भएपनि जोखिम कम भएको होइन भन्दै थप सतर्कता आवश्यक रहेकोमा जोड दिएको छ ।
सरुवारोग विशेषज्ञ डा. अनुप सुवेदीले विज्ञहरुको सल्लाहविना नै सरकारले व्यापारीहरुको दबाबमा लकडाउन खोलेको बताउनुहुन्छ ।
मानिसको चहलपहल बढेसँगै आगामी दिनमा संक्रमणको जोखिम थप बढ्ने भन्दै उहाँले आगामी दिनका लागि सरकारको तयारी नहुँदा अवस्था थप जोखिमपूर्ण हुने देख्नुहुन्छ ।
जनस्वास्थ्य वैज्ञानिक डा. समिणमणि दीक्षित भने संक्रमितको संख्या बढी देखिएको स्थान र अन्य स्थानलाई एउटै आँखाले हेरेर निर्णय गर्न नहुने बताउनुहुन्छ ।
लकडाउन खुल्दैमा अब भयावह स्थिति नै आउँछ भनेर सोच्न नहुने भन्दै उहाँले कोरोनाभाइरस अब केही समय हामीसँगै रहने हुँदा सबैजना सचेत हुनुपर्ने उहाँको सल्लाह छ ।
सार्वजनिक सवारी–साधनमा भिडभाड बढ्ने, मानिसको चहलपहल बढ्दै गए संक्रमणको जोखिम बढ्नसक्ने डा. दीक्षितको भनाइ छ ।
संक्रमण समुदायमा छ कि छैन भन्ने पत्ता लगाउन धेरैको परीक्षण गर्नुपर्ने र एकपटकमात्र परीक्षण गरेरसमेत पत्ता नलाग्ने उहाँको भनाइ छ ।
सरकारले काठमाडौंका विभिन्न स्थानका चार हजार ८०० व्यक्तिमा गरेको परीक्षणमा तीनजनामा मात्र संक्रमण देखिएको जनाएको थियो । परीक्षणलाई विज्ञहरुले प्रश्न उठाएका छन् ।
सरकारले लकडाउन अन्त्य गरेको घोषणा गरेपनि अझै विद्यालय, सभा सेमिनार, पार्टी प्यालेस, डान्सबार, व्यायामशाला, चिडियाखाना, सामाजिक र धार्मिकस्थलजस्ता धेरै भिडभाड हुने ठाउँहरू भने खोलिएका छैनन् ।
संक्रमितको संख्या देखिरहेको समयमा नै लकडाउन खुलेपनि हाम्रो दैनिकी भने नियमित जीवनशैलीमा फर्कनसक्ने अवस्थामा अझै छैन ।
संक्रमणको जोखिम कायमै रहेकाले आवश्यक सतर्कता भने अहिलेको अनिवार्य आवश्यकता हो । आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्न छाड्न हुन्न ।
प्रतिक्रिया दिनुहोस्