१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वडिआइजी कोइराला जेलमुक्त, हात हल्लाउँदै प्रेमिकाको गाडीमा चढे


0
Shares

काठमाडौं । श्रीमतीको हत्या गरी शव नै जलाएर प्रमाण नष्ट गर्ने प्रयास गरेका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइराला साढे ११ वर्ष कैद छुट पाएर आज जेलमुक्त भएका छन् ।

८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेका कोइरालालाई डिल्लीबजार कारागार प्रशासनले आज जेलमुक्त गरेको हो । उनी आफ्नै श्रीमती हत्यामा जेल परेको थिए ।

सर्वोच्च अदालतले १५ असारमा उनको सजाय घटाउने फैसला गरेको हो । श्रीमती गीता ढकालको हत्या गरेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र तेजबहादुर केसीको इजलासले उनी साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको हो ।

उनलाई लिन उनकी प्रेमिका तारा रेग्मी डिल्लीबजार पुगेकी थिइन् । कोइराला सबैलाई हात हल्लाउँदैं आफ्नी प्रेमिकाको गाडीमा चढेका थिए ।

सर्वस्वसहित जन्मकैद अर्थात् २० वर्ष कैद र उनको भागको सम्पत्तिमा दुुई छोराबाहेक उनको हिस्सा सरकारले लिनेगरी जिल्ला र तत्कालीन पुनरावेदन तहमा फैसला भएको थियो ।

तर, अब उनको सजाय आठ वर्ष ६ महिना कायम भएको छ । जसका कारण उनी आज जेलमुक्त भएका छन् ।

पुनरावेदनबाट सर्वोच्चमा आउँदा कर्तव्य गरी मारेको, अनुसन्धान अधिकारी र अदालतमा बयान बदलेको जस्ता सबै तथ्य न्यायाधीशद्वारा स्वीकार गर्दागर्दै पनि उनको सजाय घटाइएको छ ।

यसमा मुख्य आधार कोइरालाले श्रीमतीलाई तत्काल आवेशमा आई हत्या गरेको देखिएकाले र गीताको मृत्युपछि दुई छोराको हेरचाह, संरक्षण र शिक्षादीक्षामा दूरगामी प्रभाव पर्न जाने हुँदा सजाय घटाइएको उल्लेख छ ।

अन्य मुद्दामा महिनौँपछि पूर्णपाठ तयार गर्ने सर्वोच्चले यो मुद्दाको पूर्णपाठ १५ दिनमै तयार गरिसकेको थियो ।