१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


देउवाले भेटे प्रधानमन्त्री, जनाए आपत्ति


0
Shares

politics kp oli

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोनाभाइरस संक्रमण र बाढी–पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ ।

बन्दाबन्दीका बाबजुद् संक्रमितको संख्या २० हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा बन्दाबन्दी खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गर्न सभापति देउवाले आग्रह र माग गर्नुभएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सभापति देउवाले कोरोना परीक्षण ‘पीसीआर’ प्रविधिबाटमात्रै गर्न आग्रह गर्दै ‘क्वारेन्टिन’हरु अझैपनि मापदन्डयुक्त बनाउन सरकारले ध्यान नदिएको भन्दै आपत्ति प्रकट गर्नुभएको थियो ।

सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिन र बाढी तथा पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारविहीन भएको हुँदा युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

कोरोना सृजित चुनौतीका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको मुख्यसचिव पौडेलले बताउनुभयो । रासस