
प्रज्ञा तिमल्सिना र सुन्दर गुरुङ (इमेज)
काठमाडौं, साउन ८ । विश्वको तथ्यांक हेर्ने हो भने कोरोनाबाट मृत्यु हुनेहरुमध्ये ८० प्रतिशतभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकहरु रहेका छन् । नेपालमा पनि मृत्यु हुनेमध्ये धेरै दीर्घरोगी र ज्येष्ठ नागरिक नै छन् ।
तर, पछिल्लो केही दिनयता नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुमा कुनै रोग वा कुनै समस्या नभएको देखिएको छ ।
रौतहटको परोहा नगरपालिकाका ३६ वर्षीय एक पुरुष कोरोना संक्रमणबाट मृत्यु भएका दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्लोर पुगे ।
दाइको अन्तिम संस्कार सकेर असार २४ गते नेपाल आएर उनी ‘क्वारेन्टिन’मा बस्न थाले । असार २४ गतेदेखि नै क्वारेन्टिनमा बस्न थालेका उनको २८ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरी हेटौंडा पठाइयो ।
२९ गते स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीरगन्जस्थित नारायणी कोभिड अस्पताल लगियो । सामान्य रुघाखोकी लागेर अस्पताल गएका उनको असार ३१ गते मृत्यु भयो ।
कुनै दीर्घरोगसमेत नरहेको उनको स्वास्थ्यमा अकस्मात् समस्या भइ मृत्यु भएको थियो ।
यस्तै, धनुषा घर भएका ६० वर्षीय पुरुषको पनि साउन ६ गते कोरोना संक्रमणबाट नै मृत्यु भयो ।
स्वास्थ्यमा समस्या भइ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन २ गते भर्ना भएका उनको स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनलाई पनि कुनै दीर्घरोगको समस्या थिएन ।
कोरोना संक्रमणबाट मृत्यु हुनेहरुभन्दा यी दुई ‘केस’ केही फरक छन् । संक्रमणले मुटु, फोक्सो र श्वासप्रश्वासमा समस्या भइ उनीहरुको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी असर पर्ने विज्ञहरुले बताएपनि कुनै रोग नभएका व्यक्तिको मृत्यु कसरी भयो ? के अब मृत्यु हुनेहरुको दर बढ्न थालेको हो त ? जनमानसमा ठूलो प्रश्न उब्जिएको छ ।
स्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षित कोरोना संक्रमणकै कारण मृत्यु हुनेहरुको संख्या न्यून मात्रामा हुने बताउनुहुन्छ ।
कोरोनाले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई बढी असर गर्ने भन्दै ६० वर्ष उमेरमाथि व्यक्तिहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै जाने बताउनुहुन्छ ।
कोरोनाले गर्भवती र सुत्केरी महिलालाई छिट्टै असर पुर्याउने सम्भावना बढी हुन्छ ।
डा. दीक्षित सुत्केरी महिलाको रोग प्रतिरोधात्मक क्षमता कम हुने र अन्यखालका रोगकोसमेत जोखिम रहने भएकाले बढी सतर्कता अपनाउन आग्रह गर्नुहुन्छ ।
संक्रमितको संख्या केही दिनयता घटेपनि ‘लकडाउन’ खुलेसँगै आगामी दिन हाम्रा लागि केही जोखिमपूर्ण हुने देखिएको छ ।
झन् दीर्घरोगसमेत नरहेका व्यक्तिको मृत्यु हुने संख्या बढ्न थालेपछि संक्रमण कसरी गइरहेको छ भन्न मुस्किल छ । त्यसकारण व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउँदै सबैजना सचेत बनौं ।
प्रतिक्रिया दिनुहोस्