
काठमाडौं । कृषि कर्मलाई प्रोत्साहित गर्ने उदेश्यले जुम्लाका चार जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाले मुल्यांकनका आधारमा चार जना किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरेको हो।
किसान तर्फ सिँजा गाउँपालिका–५ का रामसिंह रावल, तातोपानी गाउँपालिका–४ का गंगादेखि न्यौपानेलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो।
उहाँहरुलाई नगद २५ हजार रुपैयाँ र प्रमाणपज्ञ उपलब्ध गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। उहाँहरुलाई जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले पुरस्कार प्रदान गरेका हुन्।
कृषक समुहतर्फ कनकासुन्दरी गाँउपालिका–५ स्थित नागरिक अर्गानिक कृषि सहकारी संस्था र हिमा गाउँपालिका–१ स्थित महादेव कृषक समुहलाई पुरस्कृत गरिएको छ। कृषि सहकारीलाई ५० हजार रुपैयाँ र कृषक समुहलाई ३५ हजार रुपैयाले पुरस्कृत गरिएको हो ।
मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारको व्यवस्था स्थानीय तह हुदै जिल्ला र प्रदेश स्तर सम्म हुने गरेको छ। जिल्लाबाट उत्कृष्ट भएका चार जना किसान कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा समेत प्रतिश्पर्धा गर्न पाउनेछन्।
स्थानीय तहबाट पुरस्कृत भएर जिल्लामा आएका किसानको हरेक व्यवसायको मुल्यांकन गरेर जिल्लामा पुरस्कारका लागि छनौट गरिएको थियो। पुरस्कृत भएपछि सिँजा ५ का रामसिंह रावले उत्कृष्ट पुरस्कारले काम गर्ने हौसला मिलेको बताउनुभयो।
लेखक तथा विश्लेषक समेत रहेका उहाँले मानिसका आधारभुत आवश्यकता गास, वास र कपास मध्ये गास नै आवश्यकता हो। त्यो कृषि संग जोडिएको हुन्छ’ भन्नुभयो ।
उहाँले भन्नुभयो ,‘जब सम्म मानिसले खान पाउँदैन्,तव सम्म कुनै पनि काम हुन सक्दैन्। खाद्यन्नमा आत्मनिर्भर नहुँदा सम्म संसारका कुनै पनि रंगमञ्चमा अस्तित्व रहँदैन्।’
रावल राजनीतिक तथा सामाजिक विश्लेषण तथा लेखन पेशामा पनि क्रियाशिल हुनुहुन्छ । उहाँको ‘सिन्डिकेट, लोकतन्त्र र राजनीति’ नामक पुस्तक प्रकाशित छ ।
पुरस्कार वितरण कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताउनुभयो ।
कृषि अनुसन्धान केन्द्रका प्रमुख तिर्थराज रिजालले यो पुरस्कारले पुरस्कृत किसानलाई अझ मेहनत गर्न हौस्याएको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की नेपाल कृषि प्रधान देश भनिएता पनि आत्मनिर्भर हुन नसकेको दुखेसो गर्नुभयो ।
कृषि कार्यालयका प्रमुख बालकराम देवकोटा जुम्लाका किसान पछिल्लो समयमा निकै लागि परेको बताउँनुभयो ।
प्रतिक्रिया दिनुहोस्