१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रातो मच्छिन्द्रनाथको रथारोहण


13
Shares

patan

काठमाडौं, साउन १० । ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार मध्याह्न १२ बजेर १५ मिनेटमा शुभसाइतमा पुल्चोकमा रहेको रथमा मच्छिन्नाथलाई विराजमान गराइएको हो ।

यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो ।

तर, यस वर्ष कोरोनाको महामारी र ‘लकडाउन’का कारण साविकको समयमा रथारोहण हुनसकेको थिएन ।

रथारोहणपछि गुरुजुको पल्टनका सैनिकहरूले बन्दुक पड्काएपछि औपचारिकरूपमा रथयात्रा सुरु गर्ने चलन छ ।

करिब एक हजार ६०० वर्ष पुरानो काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा पाटनको सबैभन्दा महत्वपूर्ण जात्रा मानिन्छ ।

प्राचीनकालमा नेपालमा पानीको हाहाकार भएपछि राजा नरेन्द्र देव, ललितपुरका ज्यापू र प्रसिद्ध तान्त्रिक बन्धुदत्त बज्राचार्यले भारतको आसामबाट रातो मच्छिन्द्रनाथलार्ई नेपाल ल्याएको र त्यसपछि वर्षा भएको किंवदन्ती छ ।

यो जात्रालाई सहकालका देवताका रुपमा हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् ।

मच्छिन्द्रनाथको रथयात्रा पुल्चोकबाट तानेर मंगलबजार, लगनखेल हुँदै जाउलाखेल पुर्‍याएर भोटो देखाउने गरिन्छ ।