
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा शेखर कोइरालाले नेता गोविन्दराज जोशीलगायत तीन नेतालाई पार्टीबाट निष्काशन गर्नु दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ ।
आइतबार ट्वीटमार्फत प्रतिक्रिया दिनुहुँदै डा. कोइरालाले निष्काशन गरिएका तीन नेताहरुले पार्टी र लोकतन्त्रको पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको बताउनुभएको छ ।
उहाँले लेख्नुभएको छ– ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ? आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो । उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’
कांग्रेसको अनुशासन समितिले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निष्काशन गरेको थियो ।
पूर्वमन्त्रीसमेत रहेका जोशीलाई गत निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा ५ वर्षका लागि पार्टीबाट निस्काशन गरेको समितिले जनाएको छ ।
समितिले पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरेको छ ।
तीनै जनालाई सोधिएको स्पष्टीकरणको जवाफ चिक्तबुझ्दो नभएको र पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै समितिले पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्