१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिंहदरबार पुनःनिर्माण सम्पन्न हुँदै


0
Shares

singhadurbar

काठमाडौं, साउन १२ । २०७२ सालको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार कात्तिक महिनाभित्र सम्पन्न गर्नेगरी पुनःनिर्माण भइराखेको छ ।

कोभिड–१९ का कारण निर्माणकार्यमा असर पर्दा केही समय ढिलो हुने भएपनि मुख्य भवनको पुनःनिर्माण कात्तिक महिनाभित्र सम्पन्न गर्नेगरी काम भइराखेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले बताएको छ ।

सिंहदरबार देशको मुख्य प्रशासनिक निकाय हो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निजी निवासको रुपमा सन् १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । तर, पछि सिंहदरबारलाई मुख्य प्रशासनिक केन्द्रको रुपमा परिणत गरियो ।

प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी मन्त्रालयका कार्यालयहरु सिंहदरबारभित्र छन् ।

ऐतिहासिक सिंहदरबारको मुख्य प्रशासनिक भवन २०७२ सालको भूकम्पले लगभग नष्ट हुने अवस्थामा पुर्‍यायो । त्यसपछि केही वर्ष सिंहदरबारको पुनःनिर्माण हुनसकेन । अहिले भने पुनःनिर्माणले गति लिएको छ ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवनका आयोजना उपनिर्देशक झप्परसिंह विश्वकर्माले सिंहदरबारमा क्षति भएका मुख्य दुई भवनहरु, जसमा पूर्वपट्टिको ‘सी’ आकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन र पश्चिमपट्टिको मोहडाको प्रबलीकरण विधिबाट पुनःनिर्माणको कार्य भइराखेको बताउनुभयो ।

मुख्य प्रशासनिक भवन, जहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहनेछ । उक्त भवनको पुनःनिर्माण आगामी कात्तिक महिनाभित्रमा सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको विश्वकर्माले बताउनुभयो ।

पश्चिमपट्टिको मोहडा जटिल प्रकृतिको भएको र बहुमूल्य सामानहरुसमेत रहेकाले त्यसलाई जोगाइराख्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

पश्चिम मोहोडाको पुनःनिर्माण २०७८ असोज मसान्तसम्म सक्ने समयसीमा रहेपनि चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइराखेको विश्वकर्माले बताउनुभयो ।

सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । २०३० सालमा आगलागी भएपछि यो भवन सिमेन्ट, बालुवा, छडलगायतका वस्तु प्रयोग गरी जिर्णोद्वार गरिएको थियो ।

त्यसैले अहिलेपनि सिमेन्ट, छड, गिट्टी, फलामलगायत कंक्रिटको प्रयोग गरी ‘ज्याकेटिङ’ प्रविधिबाट पुनःनिर्माण गरिएको विश्वकर्माले बताउनुभयो ।

पश्चिमपट्टिको मोहडामा सुर्खी, चुना, फलाम, सिसा, काठ प्रयोग गरी बनाइएकाले सोहीअनुसार नै पुनःनिर्माणको काम अगाडि बढाइएको छ ।

राणाकालमा जुन वस्तु प्रयोग गरी जस्तो प्रविधिबाट बनाइएको थियो, सोही प्रविधिअनुसार नै अहिले प्रबलीकरण भइराखेको विश्वकर्माले बताउनुभयो ।

न्यूनतम् क्षति र अधिकतम् संरक्षण गर्ने सिद्धान्तअनुसार भवनको प्रबलीकरण गरिएको उहाँले बताउनुभयो ।

आयोजनाका प्रोजेक्ट म्यानेजर प्रलाहद चापागाईंले भवनको फाउन्डेसनको काम भइरहेको बताउनुभयो ।

उहाँले ब्रिक्स सोलिङ, पीसीसी, फर्मवर्क, स्टील फ्रेमिङ र बिम पूरा गर्ने काम भइराखेको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने पूर्वपट्टिको भवनको निर्माण ७५ करोड रुपैयाँ लागतमा सम्पन्न हुनेछ ।

त्यस्तै, पश्चिमपट्टिको मोहडाको भ्याटबाहेक ४० करोड रुपैयाँमा निर्माण सम्पन्न हुने विश्वकर्माले बताउनुभयो ।

सिंहदरबारको पुनःनिर्माणको काम तीनओटा ‘प्याकेज’मा भएको उहाँले बताउनुभयो ।