
काठमाडौं, साउन १२ । होटल व्यवसायीहरुले नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभूति गराउन सके धेरै संख्यामा पर्यटक आउनसक्ने बताएका छन् ।
होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरुलाई नेपाल आउँदा कोभिडको संक्रमण छैन भन्ने कुराको प्रत्याभूति सरकारले गराउनुपर्ने बताउनुभएको हो । यसका लागि पर्यटकको ‘पीसीआर’ परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै पीसीआर परीक्षण गर्ने केन्द्र स्थापना गरेमा विदेशमा राम्रो सन्देश जाने र पर्यटकहरु आउनसक्ने उहाँले बताउनुभयो ।
पर्यटन क्षेत्र, होटल व्यवसाय सञ्चालनका लागि मौद्रिक नीतिमार्फत् ५ प्रतिशत ब्याजदरमा ‘वर्किङ क्यापिटल’ दिने कुरा आउनु सकारात्मक भएको शाहले बताउनुभयो ।
तर, सरकारले ५० अर्बको पुनरुत्थान कोष खडा नगरेसम्म व्यवसायीले उक्त सुविधा नपाउने र कर्मचारीलाई तलब दिन र होटल सञ्चालन गर्न नसक्ने भएकाले कोषको व्यवस्था छिटो गर्न सरकारलाई आग्रहसमेत गर्नुभयो ।
उहाँले नीति नियममा आएको कुरालाई कार्यान्वयनमा लैजाने कुरामा सरकार प्रस्टरुपमा नआउँदा व्यवसायीहरुमा अन्योल बढेको पनि बताउनुभयो ।
पर्यटन व्यवसायी सुदर्शन नेपालले ट्रेकिङ, हाइकिङ, क्याम्पिङ ट्रेक गर्ने पर्यटकहरुलाई ‘फोकस’ गरेर काम गरिने बताउनुभयो ।
कोभिड–१९ संक्रमणको जोखिमलाई ध्यान दिएर समूहमा आउने पर्यटकभन्दा पनि व्यक्ति र पारिवारिक पर्यटकलाई फोकस गरेर प्रवर्द्धन गरिएको उहाँले बताउनुभयो ।
व्यवसायीहरुले नेपालमा आउने पर्यटकका लागि सरकारले लिने शुल्कमा छुट दिनुपर्नेसमेत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्