
दार्चुला । दुहु गाउँपालिका–३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजेतिर घरमाथि पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।
सल्लेखेतीका ५० वर्षीय रामदत्त जोशी र श्रीमती ४५ वर्षीया इन्द्रा जोशी बेपत्ता भएको उहाँका २१ बर्षिय छोरा सुनिल जोशीले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एबं सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
घटनास्थल व्रह्मदेब प्रहरी चौकीबाट नजिक रहेकाले प्रहरी टोली विहानै घटनास्थलमा पुगेर उद्धार कार्य भइरहेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरिक्षकको नेतृत्वमा टोली विहान ६ बजे घटना स्थलतर्फ गएको प्रहरी निरिक्षक जोशीको भनाई छ ।
दुई तले टिनको छत भएको घरमा पहिरो खस्दा एक भैंसी र ४ बाख्रा पनि पुरिएका छन् । दार्चुला तिंकर सडकबाट आएको पानीले माथिबाट पहिरो खस्दा घटना भएको दुहु गाउँपालिका उपाध्यक्ष इश्वरी जोशीले घटनास्थलबाट जानकारी दिनुभएको छ ।
घर पुरै पुरीएको र विहानै घटनास्थलमा पुगेर जनप्रतिनिधी, प्रहरी र स्थानियहरु उद्धार कार्य गरिरहेको उहाँको भनाई छ ।
घटनामा बेपत्ता जोशी दम्पतीका छोरा सुनिल जोशी विहान संयोगले बाहिर आएका बेला घरमा पहिरो खसेको बताइएको छ । घटनाको थप विवरण आउन बाकी छ ।
प्रतिक्रिया दिनुहोस्