
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीको स्वास्थ्य ठिक नभएको टिप्पणी गर्नुभएको छ ।
तेह्रौं महाधिवेसनबाट पार्टीको नेतृत्व सम्हाल्नुभएका नेताले नै विधानले तोकेको काम, कर्तव्य र अधिकार अनुरुप काम नगर्दा पार्टीको स्वास्थ्य बिग्रेको नेता सिंहले बताउनुभएको हो ।
नेता सिंहले पार्टीको विधान र नियमावलीले निर्देशित गरे अनुरुप काम नगर्दा पार्टी अफ्ठेरो अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएपनि पजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलाप समेत गर्न नसकेको बताउनुभयो ।
महाधिवेसनको विधि र प्रक्रिया जिल्ला र स्थानीय तहमा सुरु भइसक्दा अनुशासनको कारबाही अगाडि बढाउन नहुने नेता सिंहको भनाइ छ ।
उहाँले पार्टी भित्रका पुराना नेताहरुलाई कारबाही गर्ने अन्यलाई प्रवेश गराउने खेलमा सभापति लाग्नुभएको बताउनुभयो ।
पार्टी प्रवेश गराउने र कारबाही गर्ने काम समय अनुसार ठिक नभएको उहाँले बताउनुभयो । नेतृत्वले राम्रोसँग काम गर्न नसक्दा निर्वाचनमा पराजित हुनुपरेकाले एकपटक फेल भएको नेतृत्वलाई फेरी अवसर दिन नहुने नेता सिंहले बताउनुभयो ।
नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको औचित्य नरहेको बताउनुभयो । राजनीतिक र वैधानिक रुपमा औचित्य समाप्त भइसकेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्