
बिराज रोस्यारा (इमेज)
कैलाली, साउन १४ । बजार अनुगमन र नियमन नहुँदा कैलालीमा अनियन्त्रित मूल्यवृद्धि भएको छ ।
मूल्यवृद्धिले दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्ग समस्यामा परेका छन् ।
कोभिड–१९ को संक्रमण नियन्त्रण गर्न लगाइएको ‘लकडाउन’ खुकुलो भएपछि कैलालीमा लगभग सबै उपभोग्य वस्तुमा उच्च मूल्यवृद्धि भएको छ ।
बजारमा दैनिक खाद्यान्नदेखि उपभोग्य वस्तुहरुको मूल्यमा एक्कासि वृद्धि भएपछि उपभोक्ता महँगीको मारमा परेका छन् ।
तरकारी, माछा–मासु, फलफूल, दलहन, तेलहन तथा लुगा–कपडाको मूल्य १५ देखि ५० प्रतिशतसम्म बढेको छ ।
बजार अनुगमन नगरेकोले अनियन्त्रित मूल्यवृद्धि भएको धनगढी–५, तारानगरका रुद्रप्रसाद जोशीले बताउनुभयो ।
प्रत्येक तरकारीमा प्रतिकिलो १० देखि ५० रुपैयाँसम्म वृद्धि भएको छ ।
सबैभन्दा बढी मासुको मूल्य बढेको छ । लकडाउनअघि प्रतिकिलो ३०० रुपैयाँमा पाइने कुखुराको मासु अहिले ४५० रुपैयाँ पुगेको छ ।
माछाको मूल्य प्रतिकिलो ४०० रुपैयाँ र खसी प्रतिकिलोे ८५० रुपैयाँ पुगेको छ ।
लकडाउनमा देशभरि कुखुरा मरेकाले अहिले मागअनुसार उत्पादन नभएकाले मूल्य बढेको मासु व्यवसायी रोहित मण्डलको भनाइ छ ।
संयुक्त बजार अनुगमन समितिले लकडाउनको समयमा केही सामान्य अनुगमन गरेपनि अहिले बजार, व्यवसाय खुलेसँगै अनुगमन गर्न छोडेको छ ।
धनगढी उपमहानगरपालिकाको बजार अनुगमन समितिले उपभोग्य वस्तुको मूल्य बढेपनि हिजोआज विभिन्न कारणले अनुगमन गर्न नसकिएको बजार अनुगमन समितिका अध्यक्ष योगेन्द्र चन्द बताउनुहुन्छ ।
लामो समयको लकडाउनले आर्थिक गतिविधि नहुँदा आम्दानी घटेर समस्यामा परेका निम्न वर्गीय परिवारलाई भान्साको खर्च चलाउन हम्मे–हम्मे परेको छ ।
प्रतिक्रिया दिनुहोस्