
रोमन आचार्य, सानु माली र सुयेश मानन्धर (इमेज्)
काठमाडौं, साउन १४ । नेपाली कांग्रेसमा १४औं महाधिवेशन कार्यतालिका सार्वजनिक भएपछि विभाग गठन र विस्तार गरेर पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई आफ्नो प्रभावमा पार्न खोजेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ ।
पौडेल पक्ष पटक–पटक कोठे बैठक गरेर सभापति देउवालाई दबाब दिने अवस्थामा पुगेको छ ।
संस्थापन पक्ष महाधिवेशन भाँड्ने खेलमा लागेको निष्कर्ष पौडेल समूहको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको अनामनगरस्थित महाधिवेशन सम्पर्क कार्यालयमा साउन १ गते संस्थापनइतर पक्षको बैठक बस्यो ।
बैठकले महाधिवेशन कार्यतालिकापछि सभापति देउवाले एकलौटी विभाग गठन र विस्तारमा मनोमानी गरेको विषयलाई महाधिवेशनको मुद्दा बनाउने निचोड निकालिएको थियो ।
भेलाको निष्कर्षबमोजिम निर्वाचन समितिमा उजुरी दिँदै पौडेल समूहले सभापतिले गरेको सबै निर्णय खारेज गर्न माग गरेको थियो । तर, यसको सुनुवाइ भएको छैन ।
पौडेल पक्ष विभाग विस्तार गरेर महाधिवेशन प्रभावित गर्ने समय नभएको निष्कर्षमा छ ।
सभापति देउवाले गएको फागुन १६ गते १३ ओटा र फागुन १९ गते सातओटा विभाग गठन गर्नुभएको थियो ।
यस्तै, पछिल्लो समय विभागमा अन्य पदाधिकारीहरु सदस्यको रुपमा थप्ने काम पनि देउवा पक्षबाट भएको छ ।
देउवाले १४औं महाधिवेशन आफ्नो पक्षमा पार्न आचारसंहिताविपरीत विभाग गठनलाई तीव्रता दिएको बुझाइ पौडेल समूहको छ ।
देउवा पक्षधरहरु भने पार्टी सभापतिलाई ‘फेलिअर’ बनाउने रणनीति पौडेल समूहले लिएको टिप्पणी गर्छ ।
त्यसो त संस्थापनइतर समूहमा रहेका अन्य समूह पनि देउवाको विभाग विस्तार नीतिसँग सन्तुष्ट छैनन् ।
इतर समूहका १२ जना जिल्ला सभापतिहरुले मंगलबार संस्थापन पक्षको एकलौटी निर्णय खारेजीको माग गर्नुले यसलाई प्रष्ट पार्छ ।
विशेष समयमा महाधिवेशन भाँड्ने काम सभापतिले गर्न नहुने उनीहरुको तर्क छ ।
विधानसम्मत् छ महिनाभित्र सम्पन्न हुनुपर्ने विभाग गठन पाँच वर्षसम्म नहुनु सभापति देउवाकोमात्र होइन, इतर समूहमा रहेका पौडेल पक्ष, तेस्रो समूह भनिएको सिटौला गुट पनि उत्तिकै दोषी देखिन्छ ।
पुरानै समायोजनको काम नसकिनु, पार्टीमा नयाँ प्रवेशीहरुको व्यवस्थापनमा चुनौती देखिरहँदा विभाग विस्तार र गठनको बखेडामा पार्टी रुमलिने हो भने फागुनमा महाधिवेशन सम्भव देखिँदैन ।
यस्तै, महाधिवेशन छ महिना पर धकेल्ने हल्ला चलिरहँदा नेताहरु भने गुटगत भेलामा रमाउनुले पनि महाधिवेशन तोकिएकै समयमा नहुने आशंकालाई नै बढाउँछ ।
प्रतिक्रिया दिनुहोस्