१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आन्तरिक स्रोतबाट सञ्चालित गौरवका आयोजना अगाडि बढाउन वित्तीय चुनौती : अर्थमन्त्री


0
Shares

काठमाडौं, साउन १४ । अर्थमन्त्री डा. युवराज खतिवडाले आन्तरिक स्रोतबाट सञ्चालित राष्ट्रिय गौरवका आयोजना अगाडि बढाउन वित्तीय चुनौती रहेको बताउनुभएको छ ।

वैदेशिक सहायता प्राप्त नहुने र आन्तरिक स्रोतबाट जुटाउनुपर्ने आधादर्जन बढी गौरवका आयोजना अगागि बढाउन वित्तीय चुनौती रहेको अर्थमन्त्री खतिवडाले बताउनुभएको हो ।

संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा खतिवडाले आफ्नै स्रोतबाट निर्माण सुरु गरिएका आयोजनामा स्रोत जुटाउन कठिन भएको बताउनुभयो ।

दातृनिकायहरुले लागत उठ्न लामो समय लाग्ने आयोजनाहरुमा लगानी नगर्ने भएकाले बजेट नहुने उहाँले बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले सञ्चालनमा रहेका आयोजनाहरुमा कोभिड–१९ का कारण बजेट अभाव हुन भने नदिने पनि बताउनुभयो । अन्य क्षेत्रबाट भएपनि स्रोत व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।

अर्थमन्त्री डा. खतिवडाले विदेशी सहायताआश्रित केही आयोजनाहरुमा समस्या हुने गरेकोसमेत बताउनुभएको छ ।

उनीहरुले राख्ने गरेका सर्तहरु सधैं पूरा गर्नसक्ने अवस्था नहुने भएकाले केही आयोजनाहरु कार्यान्वयनमा ढिलाइ हुने गरेको उहाँले बताउनुभयो ।

डा. खतिवडाले ‘एमसीसी’ अनुमोदनको विषय संसदमा विचाराधीन रहेकाले एमसीए नेपालअन्तर्गतको काम प्रभावित भएको बताउनुभयो ।

सरकारले अहिले आफ्नो खर्चले स्थानीय आवश्यक खर्च गरिरहेको भएपनि दाताले दिने रकमको टुंगो नभएको बताउनुभयो । विदेशी सहायताका विषयहरुमा गम्भीर छलफल गरी अगाडि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

एमसीसीको विषयमा अनुमोदन गर्ने/नगर्ने विषयमा चाँडो निर्णय गरी अगाडि बढ्नुपर्ने उहाँले बताउनभुयो ।

एमसीसी अनुमोदन नभए सरकारले अन्य स्रोतबाट आयोजना अगाडि बढाउने उहाँले बताउनुभयो ।

एमसीसी परियोजनाको सहयोगमा सरकारले लप्सीफेदी—रातामाटे—हेटौंडा र लप्सीफेदी—रातमाटे—दमौली—बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारणलाइन निर्माणको योजना अगाडि बढाएको छ ।