१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ड्रागन खेतीमा लागेका पूर्वमन्त्री मगर भन्छन् : आर्थिक क्रान्ति विना राजनीतिक क्रान्ति सफल नहुने रहेछ (भिडियो)


0
Shares

-राकेश बस्नेत/ईमेज
दाङ । कृषिमा परिश्रम गरेपछि जस्तोसुकै ठाउँमा उत्पादन हुँदो रहेछ भन्ने उदाहरण दाङका पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले गरेको ड्रागन खेतीले प्रस्तुत गरेको छ ।

राजनीति त्यागेर कृषि पेशा अपनाउनु भएका विष्ट मगरलाई हिजोआज ड्रागन फल बेच्न भ्याइ नभ्याइ छ ।

तुलसीपुर–१८ विजौरीमा पूर्वमन्त्री विष्टमगरले गरेको ड्रागन खेतीमा मिहिनेत र पसिना बगाएपछि जस्तोसुकै ठाउँमा पनि उत्पादन हुँदोरहेछ भन्ने उदाहरण देखाएको हो ।

राजनीतिलाई तिलाञ्जली दिँदै कृषि क्षेत्रमा लागेका विष्ट मगरलाई हिजोआज ड्रागन फल बेच्न भ्याइ नभ्याइ छ ।

पटक–पटक मन्त्री भइसकेका व्यक्तिको हातमा गैती, फरुवा, हँसिया, कैँची देखिन्छ । उहाँले आफूलाई पूर्वमन्त्री भन्दा पनि एउटा किसानका रुपमा चिनाउनु भएको छ ।

पूर्वपर्यटन मन्त्री भइसकेका विष्ट मगर कालो धान रोपेर कृषि क्षेत्रमा लाग्नु भएको थियो । ड्रागन खेती विस्तारका लागि आवश्यक जमिन पाउन कठिन रहेको उहाँको भनाइ छ ।

विष्टको फर्ममा अहिले ६/७ हजार ड्रागनका बोटहरु छन् । तीमध्ये अहिले ३ हजारमा उत्पादन सुरु भएको छ ।

फर्मबाट उत्पादन भएका फलले बजार नपाउला भन्ने चिन्ता नरहेको उहाँ बताउनुहुन्छ । उहाँको फार्ममा दिनुहँ ड्रागन फल किन्न आउनेको भीड लाग्ने गरेको छ ।

राजनीतिक क्रान्ति विना आर्थिक क्रान्ति तथा आर्थिक क्रान्ति विना राजनीतिक क्रान्ति सफल नहुने र यी दुवैै सफल भएमात्र सामाजिक क्रान्ति पनि सफल हुने उहाँको भनाइ छ ।

जिल्लामा पहिलो पटक ड्रागन फल उत्पादन भएको थाहा पाएपछि नयाँ फलको स्वाद लिन विष्टमगरको फर्ममा आएको तुलसीपुर– ६ का बामदेव विष्टले बताउनुभयो ।

पूर्वमन्त्री भइसक्नु भएका व्यक्तिले कृषि क्षेत्रमा गरेको कार्यले प्रेरणा पाएको उहाँ बताउनुहुन्छ ।

त्यसैगरी तुलसीपुर उपमहानरपालिकाकी महिला तथा बालबालिका शाखाकी अधिकृत माया श्रेष्ठले दाङमा नयाँ फल खान पाउँदा खुशी लागेको बताउनुभयो ।

पेशा व्यवसाय जुनसुकै भएपनि काममा लगनशीलता र इमान्दारीता भयो भने सफल हुन सकिन्छ भन्ने दृष्टान्त लोकेन्द्र विष्ट मगरले गरेको ड्रागन खेतीले सावित गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस