
सुनसरी, साउन १५ । सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको छ ।
बिहीबार धरान र इटहरी उपमहानगरपालिका जनप्रतिनिधि, सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र राजनीतिक दलका प्रतिनिधिसहितको सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।
धरानमा एक २८ वर्षीय युवा र इटहरी उपमहानगरपालिकाका एक इन्जिनियरमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरिएको सुनसरीका प्रहरी प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
धरान र इटहरीमा औषधि पसल चौबिसै घन्टा र खाद्यान्न तथा तरकारी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिएको प्रजिअ पोखरेलले बताउनुभयो ।
धरान र इटहरीमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको भन्दै संक्रमित व्यक्तिहरुको सम्पर्कमा रहेका अन्य व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी ‘पीसीआर’ परीक्षणलाई प्रभावकारी बनाइने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्