
काठमाडौं, साउन १५ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको ‘लकडाउन’को चार महिनापछि होटल तथा रेस्टुराँ व्यवसाय सञ्चालनमा आएका छन् ।
सरकारले साउन ६ गतेबाट औपचारिकरुपमा लकडाउन नरहेको घोषणा गर्दै विभिन्न क्षेत्रलाई सुचारु गराएको थियो ।
त्यस्तै, साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न स्वीकृति दिने निर्णयसमेत गरेको थियो ।
त्यसैले आजैदेखि होटल तथा रेस्टुराँलगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आएका छन् ।
सरकारले पर्यटन क्षेत्रलाई सुचारु गर्न दिएपनि होटल सञ्चालन गर्न समस्या रहेको होटल व्यवसायीहरुले बताएका छन् ।
खासगरी तारेहोटलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म होटल सञ्चालन गर्नुको कुनै अर्थ नभएको व्यवसायीहरुले बताएका छन् ।
सीमित ग्राहकलाई आफूतिर तान्न होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहेको पनि होटल व्यवसायीहरु बताउँछन् ।
होटल संघकी अध्यक्ष सिर्जना राणाले पाँचतारे होटलहरुले शुल्कमा अस्वस्थ प्रतिस्पर्धा गर्नसक्ने सम्भावना रहेको बताउनुभयो ।
उहाँले ग्राहक तान्नका लागि ‘रेट’ घटाउने काम भए होटल क्षेत्रलाई लामो समयसम्म असर गर्ने बताउनुभयो ।
कोरोना संक्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चालन गर्नसक्ने अवस्था पनि छैन ।
सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएकाले होटलहरुको सुविधा कटौती हुनसक्ने सम्भावना रहेको बताउनुभयो ।
पाँचतारे होटलका लागि मुख्य बजार भारत र चीन भएकाले पनि ती दुई देशको स्थिति सामान्य नहुँदासम्म पर्यटक कम संख्यामा आउने चापागाईंले बताउनुभयो ।
त्यसलै सरकारले होटल सञ्चालन गर्न दिएपछि कसरी ‘सर्भाइभ’ गर्ने भन्ने चुनौती देखापरेको उहाँले बताउनुभयो ।
सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको र त्यसपछिमात्रै विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण बन्ने भएकाले पाँचतारे होटलको ‘बिजनेस’ पनि त्यसपछि नै सुचारु हुने व्यवसायीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्