
काठमाडौं, साउन १५ । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिको बैठकले कोरोना संक्रमणको जोखिम देखिएका ठाउँ ‘सिल’ गरेर परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।
बिहीबार बसेको बैठकले ‘लकडाउन’ खुकुलो भएपछि संक्रमणको जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी ‘पीसीआर’ परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकताअनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पीसीआर परीक्षणको दायरा बढाइने बताउनुभयो ।
आउँदो भदौ १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिएको छ ।
पछिल्लो समय उपत्यका प्रवेश गर्नेहरुको पीसीआर परीक्षण गरिरहेको सरकारले अब प्रवेशविन्दुमा नै ‘क्वारेन्टिन’ व्यवस्थापन गर्ने भएको छ ।
काठमाडौं प्रवेश गर्ने नाकामा गरिएको परीक्षणमा संक्रमण देखिन थालेपनि प्रवेशनाकामै क्वारेन्टिनको व्यवस्था गरिने उहाँले बताउनुभयो ।
बैठकले लकडाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ ।
स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्णरुपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको सीसीएमसीले ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्