१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओली जिद्दी, दाहाल हठी, तीन नेताको स्वभाव कस्तो ? यसो भन्छन् दौंतरी (भिडियो)


208
Shares

kp oli prachanda

इमेज जिल्ला ब्यूरो

काठमाडौं, साउन १६ । ग्रामीण राजनीतिक यात्राबाट केन्द्रीय राजनीतिमा पकड जमाएका तीन नेताका कारण अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्धक बनेको छ ।

आ–आफ्नै स्वभाव र अनुभवमा रुमलिएका तीनैजना शीर्ष नेतृत्व आ–आफ्नै अभिष्ट पूरा गर्ने दाउमा टसका मस नहुँदा ४४१ सदस्यीय नेकपा बन्धकझैं भएको हो ।

गाउँमै जन्मिएर गाउँमै हुर्किएका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको आ–आफ्नै अभिष्ट हावी हुँदा नेपाल कम्युनिस्ट पार्टी अहिले बन्धकजस्तै भएको छ ।

केपी ओली
झापा घर भएका केपी शर्मा ओलीको आफ्नै अडानमा अडिक हुने स्वभाव छ । आफैं जान्ने, सुन्ने र आफ्नो कुरा प्रतिबद्धतामा दृढ रहने स्वभाव भएका कारण पनि अहिले पार्टीभित्र मेल हुनसकेको छैन ।

गाउँमा हुँदा ओली थोरै फाइँफुइँ गर्ने भएपनि गम्भीर प्रकृतिका नेता थिए । त्यसो त उनीसँगै जेल बसेका उनका गाउँले दौंतरीहरुले पनि ओली चर्चा र विवादमा आइरहने स्वभावका व्यक्ति भएकाले अहिले तीन नेताको बन्धनमा परेको नेकपाको गाँठो फुक्न हम्मे–हम्मे परेको विश्लेषण गरेका छन् ।

यता, झापामै बसेका ओलीका बुवा मोहनप्रसाद ओलीले पनि तीन नेताले आ–आफ्नै बहादुरी देखाउन खोज्दा पार्टीभित्र अहिले अलि–अलि ‘हानाहान’ चल्न थालेको बुझ्नुभएको छ । तर, कसैले केही ‘खालो’ नसार्ने उहाँको तर्क छ ।

आफ्नो छोरा प्रधानमन्त्री ओली जिद्दी स्वभावको भएको भन्दै छोराको ग्रह बलियो भएका कारण कसैको जोडबल नचल्ने दाबी गर्नुहुन्छ ।

माधव नेपाल
रौतहट घर भएका माधवकुमार नेपाललाई पनि रौतहटमा रहेका उनका दौंतरीहरुले शान्त, सरल र मिजासिलो स्वभाव भएको व्यक्तिको रुपमा परिभाषित गरेका छन् ।

तर, आफ्नो सरल स्वभावलाई कसैले उपयोग गरे उनको नसहने स्वभाव रहेको उनका दौंतरीहरुको बुझाइ छ ।

दृढ संकल्पित र बेतुकका कुरामा कसैसँग डगनमगाउने र सम्झौता नगर्ने उनको स्वभाव छ ।

केही व्यक्तिले उनको सहनशीलतालाई बढी नै उपयोग गरेका कारण पनि नेपाल विचलित हुँदा अहिले नेकपाभित्रको गाँठो झनै कसिलो भएको विश्लेषण उनका रौतहटका दौंतरीहरुको छ ।

पुष्पकमल दाहाल
कास्कीको ढिकुरपोखरी जन्मथलो भएपनि चितवनमा बाल्यकाल बिताएका पुष्पकमल दाहाल भने पछि हट्नुभन्दा मर्नु जाती भन्ने हठी स्वभावका भएको चितवनस्थित उनका गाउँले दौंतरीहरुको भनाइ छ ।

आफू मर्न जाने तर अरुलाई नबिगार्ने र नभट्काउने उनको बाल्यकालीन स्वभाव भएपनि अहिले परिवर्तन भएको उनीहरुको बुझाइ छ ।

अरुले भनेर नटेर्ने र आफ्नो जिद्दी नछाड्ने उनको बाल्यकालीन स्वभाव हो ।

त्यसो त उनका दौंतरीहरुले मसिनो स्वरमा बोलेर सबैलाई मिलाएर लैजानसक्ने स्वभाव दाहालको भएको भन्दै कोही जाइलागे नछाड्नेखालको स्वभाव भएको अनुभव सुनाएका छन् ।

त्यसैले पनि नेकपामा देखिएको किचलो यसकै परिणाम भएको आँकलन पनि उनीहरुले गरेका छन् ।

गाउँले राजनीतिमा परिपक्वताको अनुभव भएपनि केन्द्रीय राजनीतिमा उनीहरुको बाल्यकालको आ–आफ्नै स्वभावले गर्दा प्रभावित भएको देखिन्छ ।

तीनैजना नेतृत्व ग्रामीण परिवेशबाट आएकाले राजनीतिक दुःख राम्रैसँग बुझेको हुनुपर्छ ।

तर, अहिले आफ्नो अभिष्ट पूरा गर्न कोही लचिलो नबनी पुरानै स्वभावमा अडिग हुँदा तीनैजनाले कार्यकर्ताको दुःख बुझ्न नसकेको प्रमाणित हुन्छ ।

झापाबाट सुरेन्द्र भण्डारी, रौतहटबाट सञ्जय कार्की, चितवनबाट डोलराज रानाभाट र पोखराबाट प्रदीप पौडेलका साथमा शंकर खनाल काठमाडौं ।

भिडियो हेर्नुहोस्