
प्रकाश नेपाल (इमेज)
इलाम, साउन १७ । गृह मन्त्रालयले अनिवार्य मास्क लगाउन उर्दी जारी गरेपछि जिल्ला तहमा पनि यसको कडा कार्यान्वयन हुन थालेको छ ।
मास्क नलगाउनेविरुद्ध कडा कदम लिन मातहतका निकायलाई निर्देशन दिएसँगै यसको कार्यान्वयन हुन थालेको हो ।
गृह मन्त्रालयले ७७ ओटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गरेको गरेपछि इलाममा पनि भिडभाड हुने क्षेत्रमा मास्क कार्यान्वयनमा प्रहरी सक्रिय देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय इलामले सचेतनाका लागि पर्चा वितरण, माइकिङलगायतका कार्य गर्न थालेपछि सर्वसाधारणहरु पनि मास्क लगाएरमात्र घरबाहिर निस्किन थालेका छन् ।
प्रहरीले इलाममा जरिवानाभन्दा पनि हालसम्म मास्क नै वितरण गरिरहेको छ । मास्क र जनचेतनात्मक पर्चा वितरणपछि मास्क लगाउनेको संख्यासमेत बढिरहेको छ ।
पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्नसक्ने भएकाले गृहले परिपत्र गरेको हो ।
परिपत्रपछि गरिएको कडाइले सडकमा निस्किने बालबच्चादेखि युवा र वृद्धहरुले पनि मास्क लगाएर हिँड्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालयले जिल्लाभित्र सक्रियता बढाएको, पर्चा र सचेतनामूलक कार्यक्रम गरिरहेको कार्यालयका सूचना अधिकारी लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
करिब साढे तीन महिना ‘लकडाउन’ र त्यसपछि खुलेको लकडाउनमा पनि अनिवार्य मास्क लगाउन भनिएको छ । तर, कति सर्वसाधारणले यसको बेवास्ता गरेकोपनि देखिन्छ ।
सुरक्षित रहन, अनिवार्य कामबिना घरबाहिर ननिस्किन, बाहिर निस्किँदा पनि मास्कको प्रयोग गर्न अनिवार्य छ ।
प्रतिक्रिया दिनुहोस्